उदयपुरमा २ करोडको लागतमा भेटनरी अस्पताल निर्माण

त्रियुगा । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र उदयपुरलाई सुविधा सम्पन्न बनाइएको छ । उदयपुर र खोटाङ्ग दुई जिल्ला कार्यक्षेत्र भएको विज्ञ केन्द्रको सेवा प्रवाहलाई प्रभावकारी बनाउन त्रियुगा नगरपालिका १० बोक्सेमा सुबिधा सम्पन्न तीन तले नयाँ भवन निर्माण गरिएको हो ।

१ करोड ९८ लाख ७७ हजार ५ सय ८२ रुपैयाँ ९ पैसा लागतमा कार्यालयको तीन तले सुबिधा सम्पन्न भवन निर्माण भएको हो । भ्याटबाहेक २ करोड ८२ लाख ९० हजार १ सय ५६ रुपैँया ९ पैसाको लागत इस्टीमेट भए पनि निर्माण व्यवसायीहरुबीचको प्रतिसपर्धामा पवित्र निर्माण सेवाले झण्डै ३० प्रतिशत कम मूल्यमा टेण्डर हालेर कामको जिम्मा पाएको विज्ञ केन्द्र प्रमुख डाक्टर अजय साहले बताए ।

दुई वर्षभित्र अर्थात ०७९ असार ७ गते निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने गरी ०७७ असार १२ गते गरेको सम्झौता भएको भवन म्याद सकिन ३ महिना बाँकी हुँदै सम्पन्न भएको उनले बताए । गत बैशाख महिनामा नै भवन हस्तान्तरणको तयारी गरेपनि स्थानीय तहको निर्वाचनमा सोही भवनमा मुख्यनिर्वाचन अधिकृतको कार्यालय रहेकाले हस्तान्तरणमा ढिलाई भएको उनले बताए ।

आकर्षक डिजाईनको अत्याधुनिक भवन कार्यालय प्रमु्ख कार्यकक्ष, सभाकक्ष, तीनवटै तलामा पुरुष–महिलाका लागि फरक–फरक शौचालय, खानेपानी र कर्मचारीकक्षका लागि प्रसस्त कोठा र कार्यालय प्रमुखको निवाससहितको रहेको कार्यालयले जनाएको छ । भवन अपाङ्गमैत्री रहेको छ । भवनको उद्घाटन गर्दै १ नम्बर प्रदेशका कृषि मन्त्री झलकबहादुर मगरले किसानले खोजेको सेवा विस्तार गर्न समयानुकल परिवर्तन गर्दै लैजाने बताए ।

उनले विज्ञ सेवालाई ग्रामिण स्तरसम्म पुर्याउने गरी त्यहीँ किसिमको जनशक्ति तयार गर्न प्रदेश सरकार लागि परेको बताए । उनले एक जिल्लाबाट दुई जिल्लाको सेवा प्रभावकारी हुन नसक्ने देखिएकाले प्रदेश १ का सबै जिल्लामा विज्ञ सेवा सञ्चालन गर्ने सरकारको योजना रहेको सुनाए ।

मन्त्री मगरले प्रदेश १ भौगोलिक विकटताले भरिएको जिल्ला भएकाले चुस्त प्रशासन प्रभावकारी सेवाको नीति अवलम्बन गर्नसमेत निर्देशन दिए । कार्यक्रममा प्रदेशसभा सदस्य नारायण बुर्जामगरले पशु, कृषि कार्यालय र त्यहाँका कर्मचारी सिधै किसानसँग जोडिने भएकाले किसानले बुझ्ने र सहज हुने गरी सेवा प्रभावकारी बनाउनु पर्ने बताए ।

भिडियोः

Facebook Comments