उदयपुरमा सवारी दुर्घटना: वृद्धा महिलाको ज्यान गयो

उदयपुर । उदयपुरमा भएको सवारी दुर्घटनामा परी एक वृद्धा महिलाको मृत्यु भएको छ । जिल्लाको कटारीबाट गाईघाटतर्फ आउँदै गरेको भ्यानको टायरले किच्दा त्रियुगा नगरपालिका–७ की ७४ वर्षीया कोटिमाया दनुवारको ज्यान गएको हो ।

घटना मदनभण्डारी लोकमार्ग अन्तर्गत झोडा भन्ने स्थानमा आइतबार दिउँसो भएको थियो । यात्रुहरू ओर्लने तथा चढ्ने प्रक्रिया सकिएपछि भ्यान अगाडि बढाउने क्रममा वृद्धा महिलालाई टायरले किचेको थियो ।

गम्भीर अवस्थामा रहेकी दनुवारलाई तत्काल जिल्ला अस्पताल उदयपुर पुर्याइएको थियो । त्यहाँबाट थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) लैजाँदै गर्दा स्वास्थ्य अवस्था जटिल बनेपछि पुनः उदयपुर फर्काइएको थियो। अस्पताल पुग्नासाथ चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए ।

घटनापछि भ्यानका चालक ३८ वर्षीय घमाडे सार्कीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) हरिहरनाथ योगीले जानकारी दिए ।

Facebook Comments