निर्वाचनको मिति सर्दैन, बैशाख ३१ र जेठ ३१ मै चुनाव सम्पन्न हुन्छः देउवा

काठमाडौ, १६ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वानको मिति कुनै पनि हालतमा नसर्ने दाबी गर्दै पूर्वनिर्धारित मितिमा चुनाव भइछाड्ने बताएका छन् ।

पार्टीको केन्द्रीय प्रचारप्रसार समन्वय उपसमितिले शनिबार पार्टी कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले छिट्टै संसदमा दर्ता भएको संशोधन प्रस्ताव पारित हुने र बैशाख ३१ र जेठ ३१ गते चुनाव भइछाड्ने बताए ।

चुनाव सर्छकि भन्ने आशंका नगर्न आग्रह गर्दै उनले भने, ‘यो निर्वाचन महत्वपूर्ण हो । दुई मितिमा ताकिएकै मितिमा निर्वाचन हुन्छ ।’

मधेसी दलहरुको माग सम्बोधन गर्नको लागि नै दुई चरणमा चुनाव गर्न लागिएको भन्दै सत्तारुढ दल मधेसी दलको माग पूरा गर्न निरन्तर लागिपरेकाले केहिदिनभित्रै ठोस निकास निस्कने दाबी गरे ।

‘मधेसी दलको माग सम्बोधन गरेर निर्वाचन हुन्छ, संविधान संशोधन पनि भएरै छाड्न’, देउवाले थपे, ‘ त्यसका लागि केहि दिनको आवश्यकता पर्छ, कांग्रेस र माओवादी खटेको छ। एमालेलाई पनि सहमतिमा ल्याउने प्रयास हुन्छ ।’ देउवाले संविधानमा सबैको भावना र माग सम्बोधन गर्न संशोधन गर्न थालिएको भन्दै यसमा गम्भीर बन्न एमालेसँग आग्रह गरे ।

यस्तै उनले कांग्रेसकै नेतृत्वमा शान्ति र संविधान आएको भन्दै देशलाई निकास दिन सक्ने पार्टी कांग्रेसनै भएकाले स्थानीय तह निर्वाचनमा पनि जित्न आवश्यक रहेको तर्क गरे ।

पत्रकार सम्मेलनमा अर्का नेता रामचन्द्र पौडेलले सबैलाई मिलाएर लान सक्ने क्षमता कांग्रेसमा रहेको र त्यसका लागि लागिपरिएको बताए ।

यस्तै कांग्रेसका नेता तथा स्वास्थ्यमन्त्री गगन थापाले एमालेले संशोधनको बारेमा भ्रम छरिरहेको आरोप लगाए । उनले भने– एमालेले भ्रम छर्नु भनेको जनतामाथिको अपमान हो । संविधानलाई फराकिलो बनाउन खोज्दा एमाले नागरिकको अधिकार खोसियो भन्छ । यो नक्कली राष्टवाद हो ।’

उनले एमालेको राष्ट्रवादलाई कांग्रेसले राम्ररी चिनेको भन्दै राष्ट्रियताबारे कांग्रेसलाई नसिकाउन एमालेलाई चेतावनी दिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *