मन्त्री राईद्धारा दुई ठुला सिँचाई योजनाको उद्घाटन

बेलका/कटारी । प्रदेश नम्बर १ का खानेपानी सिँचाई तथा उर्जा मन्त्री रामकुमार राई ‘पासाङ’ले दुई ठूला योजनाको उद्घाटन गरेका छन् । मन्त्री राईले शुक्रबार उदयपुरमा सम्पन्न दुई ठुला सिँचाई योजनाहरुको उद्घाटन गरेका हुन् ।

जसमा जिल्लाको कटारी नगरपालिका ५ स्थित उत्तरी तावा सिँचाई योजना र बेलका नगरपालिका स्थित मुर्तिखोला सिँचाई उपयोजना उद्घाटन गरेका थिए । कटरी ५ को उत्तरी तावा सिँचाई योजनाले सम्पर्ण वडा नम्बर ५ का किसानहरु लाभान्वित हुने छन्भने बेलकाको उपयोजनाले सम्पर्ण वडा नम्बर ३, ६ र ९ गरी तिन वडाका किसान लाभान्वित हुने छन् ।

कटारीको योजना उपभोक्ता समितिबाट सम्पन्न भएको स्थानीयहरु बताउछन् । उनिहरुका अनुसार २०७७ सालमा सम्झौता भएको थियो । कुलो निर्माणपछि वडा नम्बर ५ का ३ सय ५० घरधुरी लाभान्वित हुने छन् ।

त्यसैगरी बेलकामा मुर्तिखोलाको ठेक्का रौता कन्ट्रक्सनले २०७६ सालमा लिएका थिए । संघीय सरकार र जनश्रमदान गरी ४ करोड बढी रकममा योजना सम्पन्न भएको जलस्रोत तथा सिँचाई डिभिजन कार्यालय उदयपुरका प्रमुख देवनन्द मण्डलले बताए ।

प्रमुख मण्डलका अनुसार त्यस सिँचाई योजना अन्तरर्गत २ वटा मुख्य कुलो र ८ वटा शाखा कुलोहरु निर्माण भएको छ । मुख्य दुई कुलोको लम्वाई जम्मा ३ हजार ७ सय ४० मिटर रहेको छ भने चौँडाई २ हजार ९ सय मिटर गरी जम्मा ६ हजार ६ सय ४० मिटर रहेको छ । कुलो सन्चालनपछि ७ सय ४८ घर लाभान्वित हुने समेत प्रमुख मण्डलले बताए ।

मन्त्री राईले सो योजनाको उद्घाटनसँगै अन्य थुप्रै साना सिँचाईहरुको अवलोकन समेत गरेका थिए । उद्घाटन र अवलोकनमा कार्यक्रममा मन्त्रालयका सचिव नविनराज सिंङ लगायत मन्त्रालयका शाखा र उपशाखा प्रमुखहरुको समते उपस्थिति रहेको थियो ।

Facebook Comments