बाँजगरामा आधाभूरत स्वास्थ्य सेवा सुरु

त्रियुगा । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १४ स्थित धाप्लाङ बाँजगरामा आधारभूत स्वास्थ्य सेवा संञ्चालन सुरु भएको छ । बुधबार एक कार्यक्रम बिच उद्घाटन भएसँगै सो सेवा सुरु भएको हो ।

बिशेषगरि स्थानीय जनताहरुलाई स्वास्थ्य क्षेत्रमा टेवा पुगोस् भन्ने उदेश्यले उक्त सेवा संञ्चालन गरिएको त्रियुगा नगरपालिका १४ साउनेको वडा कार्यालयले जनाएका छन् । आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी, उपप्रमुख देवी कुमारी चौधरी र त्रियुगा नगरपालिकाका सामाजिक विकास संयोजक मानवहादुर राईले संयुक्त रुपमा गरेका थिए ।

केन्द्र उद्घाटन गर्दै मेयर चौधरीले त्रियुगा नगरपालिकाका बिभिन्न स्थानीय गाउँ ठाउँमा स्वास्थ्यको पहँुच तिव्र गतिमा बढ्दै गएको बताए । उनले नगरको समृद्ध नारालाई जोड दिँदै जनताहरुकै माग अनुरुप स्वास्थ्य, शिक्षा जस्ता कुरालाई स्थानीय जनप्रतिनिधिहरुले पहिलो प्राथामिकतामा राखेर काम गरेको समेत बताए ।

यस्तै नगर उपप्रमुख देवी कुमारी चौधरीले स्थानीय जनताहरुले अव स्वास्थ्य सेवा गाउँघरमै लिन सक्ने बताए । उनले एउटा सानो समस्याको लागि धेरै खर्च गरेर साउने बासीले सदरमुकाम गाईघाट धाउनु पर्ने समस्या हल भएको बताए । उपप्रमुख चौधरीले उद्घाटन भएको स्वास्थ्य केन्द्रमा जनताहरुको माग बमोजिम अन्य सुविधाहरु पनि दिने प्रतिबद्धता जनाए ।

यसैगरि त्रियुगा नगरपालिका वडा नम्बर १६ का वडाअध्यक्ष समेत रहेका सामाजिक विकास संयोजक मान वहादुर राईले स्वास्थ्य जस्तो महत्वपूर्ण क्षेत्रमा नागरिकहरुको मौलिक हक रहेको बताए । जनताहरुको आधारभूत आवश्यकताकै रुपमा रहेको स्वास्थ्य क्षेत्रलाई स्थानीय सरकारले पनि उत्तिकै चासो दिएर अगाडी बढाउदै आएको बताए ।

त्यसैगरि वडाअध्यक्ष कुरुङ राईले स्वास्थ्य केन्द्रले आफ्नो वडाको जनताहरुलाई मात्रै नभएर छिमेकी जिल्ला खोटाङका केही गाउँहरुलाई समेत समेट्ने गरी आधारभूत स्वास्थ्य केन्द्र निर्माण गरिएको बताए । वडाअध्यक्ष राईले स्वास्थ्य केन्द्र निर्माणको क्रममा केहि जनताहरु भ्रमित रहेर सेन्टरमा स्वास्थ्य केन्द्रको आवश्यक नठानेको भएपनि पछि सबैको सहमतिमा स्वास्थ्य केन्द्रको निर्माण गरिएको जनाए । उद्घाटन भएको स्वास्थ्य केन्द्रले बाँजगरा, सिम्ले, घिर्लिङ पुङमाङ, धाप्लाङ र खोटाङका केहि भुभागहरुले समेत सेवा लिन सक्नेछन् ।

Facebook Comments