लकडाउनको कारण बाख्रा पालक मारमा, खोरमै थन्किए बोका र पाठाहरु

उदयपुर । खोरभरी बोका र पाठा छन् तर विक्री छैन् । बजार लैजाउ गाडी खुल्दैन, गाउँघरमा भनेजस्तो विक्री र खपत छैन् । झण्डै ६ महिनादेखि लकडाउन जारी रहँदा उदयपुरको त्रियुगा नगरपालिका १४ साउने स्थित निपानेका रामकुमार राई हिजोहाज निकै चिन्तित छन् ।

नौ बर्र्षदेखि व्यवसायिकरुपमा बाख्रा पालन गर्दै आएका उनको खोरमा एक सय ५० वटा बोका र पाठापाठी विक्री योग्य छन् । गाडी लिएर व्यापारी सिधै घरमै पुग्ने र एकै पटक २५÷३० वटा ल्याउने गरेकोमा व्यापारी पुग्न नसक्दा उनका बोका खोरमै थुनिएका हुन् ।

खसीभन्दा बोका र पाठापाठीमा राम्रो आम्दानी हुने गरेको उनी बताउँछन् । भन्छन्, ‘खसीबाट एकमुष्ट ठुलो रकम आए पनि बोका पाठापाठी जस्तो आम्दानी हुन सक्दैन । ‘खसीमा अलिक बढि मेहनत र लगानी छ, राई भन्छन्, ‘एउटा खसीमा गरेको लगानीले तीन वटा बोका उत्पादन हुन्छन, आर्थिक हिसावले पनि खसीभन्दा बोकाले जित्छ ।

व्यावसाय सुरु गरेदेखि यो पहिलो पटक समयमा बोका, पाठा विक्री गर्न नपाएको उनी बताउँछन् । २०६८ सालदेखि व्यवसायमा होमिएका राईले २०७१ मा ‘स्वईच्छा बाख्रा पालन फर्म’ दर्ता गरेर व्यावसायिक बाख्रा पालन गर्दै आएका छन् । लकडाउनलेगर्दा समयमा बोका, पाठा बेच्न नपाएको राईले बताए ।

‘यसविचमा गाउँघरमा केहि बोका विक्री भएपनि उचित मूल्य पाउन सकेन्, उनले भने, ‘व्यापारीले उचित मुल्य दिएर एकमुष्ट रकम दिएर जान्छन, गाउँघरमा मुल्यपनि कम त्यसमा अझ उधारो दिनु पर्छ, खपत पनि भने जस्तो छैन् । पाठा जन्मेको करिब ५ महिनामा बेच्न योग्य हुन्छ । सिजन कटि सकेको बोका पनि फर्ममा राख्नु परेको उनको गुनासो छ ।

बाख्रा पालनबाट वार्षिक २० लाख बढि आम्दानी गर्दै आएका रामकुमार यस वर्ष कोरोनाकै कारण आधा आम्दानी हुने आशा राखेको बताउँछन् । ‘गत वर्ष सिजनमा बोका प्रति गोटा १०÷१२ हजारका दरले विक्री हुन्थ्यो, उनले भने, ‘तर यो वर्ष कोरोनाले गर्दा विक्री नै हुन् सकेन, गाउँघरमा ७÷८ हजारमा खोज्छन त्यसैले आम्दानी घट्यो ।

व्यवसायिकरुपमा बाख्रापालन गर्दै आएका राईका आधुनिक तीन वटा खोर, बाख्रालाई नुहाउने डिपिङ सेन्टर, आधुनिक टाट्नोको व्यावस्था छ । अहिले फर्ममा दुई सय ५० माउ बाख्रा छन् । फर्ममा स्थानीय जातको खरी बाख्रा, जमुना पारी, बोयर लगायतका प्रजातिका बाख्रा रहेको राईले बताए ।

२०५७ सालमा ग्रामिण पशु स्वास्थ्य सेवा तालिम लिएर दश वर्ष गाउँ बस्तिमा पशुको उपचार गर्नेक्रममा व्यावसायिक बाख्रा पालन गर्ने सोच जागेको उनी बताउँछन् । त्यहीँ सोचले श्रीमतिलाई पनि भेटनरी पढाएर अहिले दुवै जना बाख्रा पालनमा लागेको उनी बताउँछन् ।

भेटनरी ज्ञान भएकाले रोग नलागेपनि बाख्रा सामान्य विरामी पर्दा आफैले उचार गर्ने गरेकाले व्यावसाय गर्न सहज भएको श्रीमती जिनाकुमारी राई मगरको भनाई छ । बाख्रापालनका लागि राईले करिब १५ रोपनी जग्गामा घाँस रोपेका छन् ।

बाख्राले खान रुचाउने ईपीलिपि, ईन्डुला, टाँकी, किम्बु, कोईराला, नेपियर, भटमासे लगायतका प्रजातीका घाँसहरु रोपेको उनी बताउँछन् । ‘गत वर्ष जस्तो सामान्य अवस्था रहेको भए यो बर्ष करिब ५० रोपनी जग्गा किनेर घाँस खेती गर्ने सोच थियो, राईले भने, ‘कोरोनाका कारण अवश्था सामान्य रहेन त्यसैले सबै योजना विफल बनायो ।

वोयर जातमा आकर्षण
रामकुमारले पालेका बाख्रा र बोकामध्ये सुर्खेतबाट ल्याएको वोयर जातको वोका र बाख्रा आकर्षित रहेको छ । उनले ५० केजी रहेको वोयर वोका दुई लाख ७६ हजार रुपैँयामा सुर्खेतको अस्मिता फर्मबाट खरिद गरेको बताए ।

त्यसैगरी प्रति केजी एक हजार रुपैँयाका दरले तीन वटा उक्त जातीका बाख्रा एक लाख सात हजारमा खरिद गरेको सुनाए । राईले खसीभन्दा पनि बोका र पाठी उत्पादन गरी विक्री गर्ने गरेका छन् ।

यसरी उत्पादन गरेको एउटै बोका २५ हजार मुल्यसम्ममा विक्री गरेको बताए । वोयर बाख्रालाई पहिलो प्राथमिकतामा राखेर व्यावसायलाई अगाडी बढाउने सोच रहेकाले फर्मलाई एउटा श्रोत केन्द्रको रुपमा अघि बढाउनेसमेत लक्ष्य रहेको उनको भनाई छ ।

‘हाम्रो बानी कुनै निकायबाट अनुदान पाउनसाथ हचुवाको भरमा व्यवसायि सुरु गर्छौ, राई भन्छन्, ‘अनुभव, अभ्यास र इच्छाशक्ति वेगर कुनै पनि व्यवसायमा हात हाल्नु उपयुक्त छैन् । ज्ञान विना व्यावसायगर्दा सोचे जस्तो आम्दानी लिन नसकिने उनको भनाई छ ।

Facebook Comments Box