उदयपुर । लकडाउनको समयावधि बढेसँगै गरिव तथा विपन्न परिवारमा भोकमारी देखा पर्न थालेपछि उदयपुरको रौतामाई गाउँपालिकाले पहिलोपटक राहत वितरण सुरु गरेको छ ।
दिनभर मजदुरी गरी विहान वेलुकाको दुई छाकको गर्जो टार्दै आएका ज्याला मजदुरी र विपन्न परिवारको अवश्था नाजुक बन्दै गएपछि चार गाउँपालिका मध्ये सबैभन्दा पहिला रौतामाईले मजदुरलाई राहत वितरण सुरु गरेको हो । अन्य गाउँपालिकाले तथ्यांक संकलन गरिरहेको जनाएका छन् ।
दैनिक ज्याला गरी खाने मजदुरमा भोकमारीको अवश्था सृजना हुन थालेपछि तत्काल गर्जो टार्न आपतकालिक कोष स्थापना गरी राहत वितरण गरिएको अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताए । उनले भने, ‘आफ्ना जनता वचाउनु पालिकाको पहिलो कर्तव्य भएकाले, सबै कामहरुलाई थाति राखेर वास्तविक मजदुरको एकिन गरी राहत संकलन र वितरणलाई तिव्रता दिएका हौ ।
पालिकाले वडानं ७ स्थित गुराँसे, मुर्कची, खानीटार, पुवाँरे, राजाबास, शिखर, डहर, कोल्वोटे, तिलवारी, धाङ्ले लगायतका दुई सय ३१ परिवारलाई राहतप्याकेज अन्र्तगत प्रतिघर चामल बीस केजी, दाल दुई केजी, चुन दुइ केजी, तेल एक लिटर र हातधुने सावुन चार पिसका दरले वितरण गरिएको अध्यक्ष खड्काले जानकारी दिए ।
बाँकी वडामा शनिबारदेखि वितरण सुरु गरिएको छ । अध्यक्ष खड्काअनुसार गाउँपालिकाको वडानं १ मा २३ घर, वडानं २ मा १४, वडानं ३ मा १२, ४ नम्बरमा ३५, वडानं ५ मा एक सय, वडानं ६ मा चार, ७ नम्बरमा दुई सय ३१ र वडानं ८ मा ३५ गरी चार सय ३५ घरधुरी अतिविपन्न र ज्यालामजदुरी गरी गुजारा चलाउँदै आएका छन् ।
पालिकाका वडाध्यक्ष र टोलविकास संस्थाको संयुक्त अनुगमन पछिको सिफारिसका आधारमा त्यस्ता व्यक्तिको पहिचान गर्दै खाद्यन्न उपलब्ध गराएको उनले बताए । खाद्यन्न गाउँपालिका, जनप्रतिनिधि, सामुदायिक वन, स्थानीय लघुबित्त संस्थाको सहयोगमा वितरण गरिएको हो ।
विश्वभरी माहामरी को रुपमा फैलिएको नोबेल कोरोना कोभिड १९ काकारण नेपाल सरकारले लकडाउन गरेसँगै रौतामाई गाउँपालिकाका ८ वटै वडामा खाधान्न संकट हुन नदिनका निम्ति पालिकाले विपन्नको पहिचान गरी राहत वितरण गरिएको प्रमुख प्रशासकिय अधिकृत खम्बराज राईले जानकारी दिए ।