उदयपुर । कारागार भित्रका कैदीबन्दीको मानवअधिकारलाई स्थापित गर्ने उदेश्यले प्रदेश सरकार आन्तरिक मामिला तथा कानूनन मन्त्रालय प्रदेश नम्बर एकले बुधबार जिल्ला कारागार उदयपुरमा हास्यव्यङ्ग्य शिविर सञ्चालन गरेको छ । सिस्नोपानी नेपाल र इन्सेकको सहकार्यमा प्रदेश सरकार प्रहरी प्रशासन तथा कारागार व्यवस्थापन शाखाले चर्चित कलाकारहरुको उपस्थितिमा ‘कारागारमा मानव अधिकार प्रर्वद्धन’का सवालमा हास्यव्यङ्य शिविर सञ्चालन गरेको हो ।
कार्यक्रममा सिस्नोपानी नेपालका चर्चित कलाकारहरुले हास्यव्यङ्ग्य, संगित, उखानटुक्का, कविता, नृत्यको माध्यमबाट कैदीबन्दीको अधिकारलाई प्रर्वद्धन गर्ने सन्देशहरु प्रवाह गरेका थिए । कार्यक्रममा चर्चित हास्यकलाकार मनोज गजुरेलले कारागारमा बसेका कैदीबन्दी भोलीका समाज परिवर्तनका सम्बाहक मात्र नभई देशको वागडोर सम्हाल्ने व्यक्ति पनि भएकाले निरास भएर नबस्न सुझाब दिए । उनले भने, ‘यहीँ कैदीबन्दी भोलीको विद्धान, विश्लेषक, वकिल, राजनीतिको मियो हुन सक्छन्, त्यसैले आफुलाई सम्हाल्नुस, साहस बोक्नुस, जेल केवल संयोगले बस्ने हो ।’
वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीदेखि अन्य नेताहरुको इतिहास कोट्याउँदै उनले भने, ‘देशको वागडोर सम्हाल्ने नेताहरुको इतिहास हेर्नुस यस्तै जेल जीवन विताएर गएका हुन्, तपाईहरु पनि यो देशको भोलीको सम्वाहक हो, त्यसैले साहस र धैर्यताको खाँजो देखेको छु ।’ आफ्नो कलाकारिता क्षेत्रबाट कैदीबन्दीलाई हसाउँदै आकर्षित गराएका गजुरलले जेल जीवन पछिको सामाजिक जीवन कैदीबन्दीका लागि निकै सकसपूर्ण रहेकाले पुर्नउत्थानका लागि सरकार र नागरिक सचेत रहनु पर्ने बताए । कार्यक्रममा बोल्ने वक्ता र कलाकारहरुले जेल जीवन विताएका कैदीबन्दीलाई समाजका व्यक्तिले हेर्ने दृष्टिकोण फरक बनाउने गरेकाले सामाज परिवर्तनको खाँचो रहेको औल्याए ।
उनीहरुले कैद भुक्तानी गरिसकेकालाई अहिले पनि अपराधि हो, यो फलानो मुद्दामा थुनिएर आएको भन्ने, हासिमजाक गर्ने, होच्याउने प्रविति समाजमा अहिलेपनि कायम रहँदा जेलबाट सुधार भएर घर गएका व्यक्तिको मनोवल घटने र सुधारको साटो पुनः त्यस्तै कार्यमा लाग्न सक्ने सम्भावना रहेकाले सामाजिक मर्यादामा परिवर्तनको खाँचो रहेको बताए । कार्यक्रममा हास्य कलाकार तथा सिस्नोपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नाङ्गे, महासचिब टंक आचार्य, मनोज गजुरेल, गायक शिशिर योगी, योग गुरु सुवासचन्द वडाल लगायतका कलाकारले कलाकारितासँगै कैदीबन्दीलाई तीन घण्टासम्म मनोरञ्जन दिएका थिए ।
चर्चित गायक शिशिर योगीको ‘यो देशमा एउटा मानिस खोजी रहेछु’ गितले कैदीबन्दीको ध्यानलाई अझ केन्द्रित गर्यो, उनी लगत्तै हसाउन ‘सरकारलाई सघाउ’ शिर्षकको कविता लिएर मञ्चमा प्रवेश गरेका लक्ष्मण गाम्नाङ्गेको प्रस्तुती प्रति पनि कैदीबन्दीले पेट मिचिमिचि हासे । कार्यक्रममा प्रदेश सांसद हिमाल कार्कीले कारगार यातना नभई सुधारगृह रहेको बताए । उनले संबिधान लेखेर मात्र नहुने भएकाले व्यवहारिक परिवर्तन र कार्यान्वयनको खाँचो रहेको बताए ।
त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियारले कैदीबन्दीको हकमा संबिधानले व्यवस्था गरेको मानवअधिकारलाई पालना गर्न सबै क्षेत्रको साथसहयोग अपरिहार्य रहेको बताए । उनले सामाजिक त्रुटी र विभेदित दृष्टिकोणकाकाकारण कैदीबन्दीलाई हेर्ने सोचाईमा फरक भएको बताए । त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले समाज रुपान्तरण हुन नसक्दा कैदीबन्दी प्रतिको सामाजिक व्यवहारमा परिवर्तन आउन नसकेको बताए । उनले कैदीबन्दीलाई अहिलेपनि समाजले स्वीकार गर्न सक्ने अबश्था नरहेकाले सोचाई र बुझाईमा फरक बनाउनु पर्ने अबश्था आएको बताए ।
कार्यक्रमा नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले जिल्लाको मानव अधिकारको अबश्था विश्लेषण गर्दै संबिधानले व्यवस्था गरेको मानवअधिकारका सवाल, मानवअधिकारका आधारभुत सिद्धान्त, सन्धि सम्झौताका बिषयमा चर्चा गरेका थिए । त्यसक्रममा कैदीबन्दिहरुले कारागार भित्र विजुलीवत्ति, शुद्ध पीउने पानीको अभाव, क्षमताभन्दा बढि बस्नु पर्दाका पीडाको बारेमा बताएका थिए ।