वाम उम्मेद्वार रार्इकाे गाडीमा बम प्रहार

भोजपुर– चुनावी सभाका लागि जानेक्रममा एमाले नेता, पूर्व सूचना तथा सञ्चारमन्त्री एवं प्रदेश सभा भोजपुर क्षेत्र नं २ का प्रत्यक्षतर्फका वाम गठबन्धनका उम्मेदवार शेरधन राईलाई लक्षित गरी बम आक्रमण भएको छ।

मंगलबार बिहान ९ः ५० बजे टेम्के मैयुङ गाउँपालिका–६ कोटको गुम्बामा राईमाथि आक्रमण भएको हो । आक्रमणमा परी राईका सुरक्षा गार्ड असई डिल्ली देवकोटाको बायाँ हातमा गम्भीर चोट लागेको छ । राई भने सकुशल रहेका छन् । भोजपुर सदरमुकामदेखि पश्चिम टेम्के मैयुङ गाउँपालिका–८, गोगनेको चुनावी सभामा जाने क्रममा राईलगायत अन्य कार्यकर्ता सवार बा १५ ज ५६०८ नम्बर को ल्याण्डरोभर गाडीमा सकेट बम आक्रमण भएको थियो।

स्थानीय सुदन राईका अनुसार गुम्बामा रहेको होटलबाट करिब एक किलोमिटर टाढा रहेको घुम्तीको उकालोमा आक्रमण भएको हो । सडकमाथि भिरमा कुरेर बसेका आक्रमणकारीले पहिले ढुंगा प्रहार गरेका थिए । ढुंगा प्रहारलगत्तै सकेट बम प्रहार भएको थियो । सकेट बमपछि गोली प्रहार भएको भिमबहादुर श्रेष्ठले बताए ।  गोली प्रहार भएपछि राईलाई गाडीभित्रै राखेर अंगरक्षक डिल्ली देवकोटाले जवाफी फायर खोलेका थिए । उनले २१ राउन्ड फायर गरेपछि आक्रमणकारी भागेका थिए । सुरुमा विद्युत्को ट्रान्सफरमर पड्के जस्तो आवाज आएको, धुँवा र धुलोको मुस्लोसहित गोली पड्केको आवाज आएको प्रत्यक्षदर्शी सुदन राईले बताए । कलाकार र उम्मेदवारसहित चारवटा गाडी आमसभाका लागि जाँदै थिए । कलाकारको गाडी अगाडि गइसकेपछि राई चढेको गाडिमाथि आक्रमण भएको सँगैरहेका समानुपातिक उम्मेदवार सिर्जना राईले बताइन् । आक्रमणपछि पनि राई चुनावी सभालाई सम्बोधन गर्न गोगने पुगेका थिए।

बम आक्रमण गर्ने समूहबारे नखुलेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक गितनारायण चौधरीले जानकारी दिए । घटनालगत्तै सुरक्षाटोली त्यसतर्फ खटाइएको छ । आक्रमणबाट गाडीमा नराम्ररी क्षति पुगेको छ । आक्रमणको कसैले जिम्मेवारी नलिएको प्रहरी जनाएको छ । घटनापछि प्रमुख जिल्ला अधिकारी चेतराज बरालसहितको सुरक्षा टोली घटनास्थलमा पुगेको थियो । प्रमुख जिल्ला अधिकारीले बरालले घटनापछि सुरक्षा चुनौती थपिएको बताए । अबको उमेदवारको सुरक्षाका लागि आवश्यक सहकार्य गरेर सुरक्षित रूपमा कार्यक्रम गर्ने वातवरण बनाइने बताए । घटना घटाउने नेपाल कम्युनिष्ट पार्टी (विप्लप) समूह हुनसक्ने उनको अनुमान छ । घटनापछि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाली सेना, सशस्त्र र जनपथ प्रहरीको गस्ती टोली परिचालन गरिएको छ।

‘बम प्रहार सुनियोजित’ 
उम्मेदवार शेरधन राईले आफूलाई मार्नेगरी सुनियोजित तरिकाले बम हानिएको प्रतिक्रिया दिएका छन् । भोजपुर क्षेत्र न.२ बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार राईले बम प्रहारको घटनापछि भने, ‘मलाई सिध्याउने गरी सुनियोजित रूपमा बम हानियो।’

नेता राईले घटनालाई आफूले गम्भीर हिसाबले लिएको बताए । उनले भने, ‘यो घटनालाई मैले गम्भिरतापूर्वक लिएको छु, मैले सानैदेखि भोजपुर र भोजपुरे जनताको सेवा गर्दै आएको छु । मेरो पहिचान र परिचय भोजपुरमा निष्कलंक नेताका रूपमा छ । मैले जानेर आजसम्म गल्ती गरेको छैन । निष्ठा र इमानकासाथ जनताको सेवा गरिरहेको मान्छेलाई सिध्याउने गरी बम हानेको यो घटनाले दुःखी बनाएको छ ।’ एमालेबाट पूर्वमन्त्री राईलाई प्रदेश नम्बर एकको मुख्यमन्त्रीको उमेदवारका रूपमा हेरिएको छ।

राईले भने, ‘मलाई सबैले भावी मुख्यमन्त्रीको रूपमा हेरिरहनु भएको छ । यस्तो अवस्थामा मलाई सिध्याउन खोजिएको छ ।’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घटनाप्रति गम्भीर आपत्ति जनाउँदै दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । ‘हाम्रा पार्टीका प्रदेश नं १ का सहसंयोजक एवं भोजपुर १ का प्रदेशसभा सदस्य उम्मेदवार पूर्वमन्त्री शेरधन राईमाथि आज बिहान भएको सांघातिक आक्रमणलाई हाम्रो पार्टीले गम्भिरतापूवर्क लिएको छ । निर्वाचन प्रचारको क्रममा रहेका उम्मेदवारमाथिको यो आक्रमणलाई हामीले सिंगो एमाले पंक्तिमाथिको आक्रमणका रूपमा लिएका छौं,’ अध्यक्ष ओलीले विज्ञप्ति जारी गर्दै भनेका छन् ।  ‘घटनामा संलग्न जोसुकै भए पनि उनीहरूको उद्देश्य लोकतन्त्रलाई संस्थागत हुन नदिने, निर्वाचन भाँड्ने र मुलुकमा भाँडभैलो मच्चाइरहने स्पष्ट हुन्छ । हामी सरकारलाई निर्वाचनका उम्मेदवारलाई यथेष्ट सुरक्षा प्रदान गर्न र यस्ता सांघातिक आक्रमण नियन्त्रण गर्न सचेत गराउँछौं ।’ नेकपा एमाले जिल्ला कार्यसमिति भोजपुरले पनि घट्नाको भत्र्सना गर्दै आक्रमणकारिहरुको अविलम्ब पहिचान गरी प्रक्राउ गर्न र दोषीउपर कारबाही गर्न माग गरेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *