



जाल्पाचिलाउने । उदयपुरको त्रियुगा नगरपालिका–१६ स्थित भोर्लेमा आरसीसी सिंचाई कुलो निर्माण सम्पन्न भएको छ । भोर्ले खोलाबाट करिब ७ सय ८ मिटर लामो कुलो निर्माण गरी मंगलबार एक विशेष समारोहका बीच पानी प्रवाह गरेर उद्घाटन गरिएको हो ।
नगरप्रमुख बसन्त बस्नेतले उद्घाटन गर्दै नगरलाई कृषिमा आत्मनिर्भर बनाउन सिंचाई पूर्वाधारमा लगानी गर्नु अपरिहार्य रहेको बताए । उनका अनुसार कुलो निर्माणमा स्विस सरकारको ३० प्रतिशत तथा संघीय, प्रदेश र स्थानीय तीनवटै तहको २०–२० प्रतिशत र बाँकी १० प्रतिशत स्थानीय जनसहभागिताबाट गरी करिब ३० करोड ७६ लाख रुपैयाँ खर्च भएको हो ।
सिंचाई कुलो सञ्चालनमा आएपछि भोर्लेका १८ घरधुरीलाई करिब १ सय १२ रोपनी जमिनमा सिंचाई सुविधा पुग्ने भएको छ ।
स्थानीय कृषक तेज बहादुर सिदाल मगरका अनुसार, “पहिले माटोको अस्थायी कुलोले बारम्बार समस्यामा पार्थ्यो। बाढी आउँदा कुलो बग्थ्यो, ठाउँ–ठाउँमा पानी चुहिन्थ्यो। अब पक्की कुलो बनेपछि भरपर्दो सिंचाईको व्यवस्था भएको छ।”
उद्घाटन कार्यक्रममा उपप्रमुख महेश्वरी राईले दीर्घकालीन सोचका साथ निर्माण गरिएको यो पक्की कुलोले भोर्ले क्षेत्रको कृषि उत्पादनमा उल्लेखनीय वृद्धि गराउने विश्वास व्यक्त गरिन् ।
वडा अध्यक्ष मान बहादुर राईले निर्धारित समयमै गुणस्तरीय निर्माण कार्य सम्पन्न गरेकोमा उपभोक्ता समितिलाई धन्यवाद दिए । उनले भने, “यो कामले वडा नं। १६ लाई कृषि उत्पादकताको दृष्टिले उदाहरणीय बनाउनेछ ।”
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कुमार प्रसाद कोईरालासहित स्थानीय कृषक, जनप्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । त्रियुगा नगरपालिका–१६ सहित १४ र १५ नम्बर पहाडी वडालाई ुकफी जोनुका रूपमा विकास गर्ने लक्ष्य राखिएको नगरपालिकाले जनाएको छ ।
भिडियोः