उदयपुरमा एक किशोरी र एक युवक मृत अवस्थामा फेला


चौदण्डीगढी । उदयपुरको चौदण्डीगढी नगरपालिका–४ अमलचौरीमा एक किशोरी र एक युवक मृत अवस्थामा फेला परेका छन् । स्थानीय २८ वर्षीय रबिन राई र १४ वर्षीया मञ्जु राई बुधबार बिहान अलग–अलग स्थानमा मृत अवस्थामा फेला परेका हुन् ।

इलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख प्रहरी निरीक्षक बबिन राईका अनुसार मञ्जुको शव गाउँको बाटोमा लडिरहेको अवस्थामा भेटिएको हो । त्यसबाट करिब २०० मिटर तल रबिनको शव आँपको रुखमा झुन्डिएको अवस्थामा फेला परेको थियो ।

घटनास्थलमा पुगेका प्रहरी निरीक्षक राईले स्थानीयले बिहानै बाटोमा शव देखेपछि प्रहरीलाई खबर गरेको जानकारी दिए । सूचना प्राप्त लगत्तै प्रहरी टोली पुगेर खोजतलास गर्दा युवक राईको शव झुन्डिएको अवस्थामा फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) हरिहरनाथ योगीका अनुसार दुवै शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । घटनाको कारण पत्ता लगाउन आवश्यक अनुसन्धान सुरु गरिएको उनले बताए ।

Facebook Comments