



उदयपुर । उदयपुरको बेलका नगरपालिका–९ स्थित मदन भण्डारी लोकमार्गमा भएको सवारी दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका वडा नम्बर १२ डिएमगेट बस्ने ५२ वर्षीया ललिता कुमारी कलवार रहेकी छिन् ।
उनको उपचारको क्रममा विराट नर्सिङ अस्पताल विराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यायल उदयपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) केदारमान डोङले बताए । प्रवक्ता समेत रहेका डिएसपी डोङका अनुसार गत जेठ २४ गते बिहान करिब ८ः३० बजे आफ्ना श्रीमानसँग मोटरसाइकलमा घर फर्कदै गर्दा सोहि दिसाबाट आएको अर्को मोटरसाइकलले ठक्कर दिएको थियो ।
कलवार श्रीमान श्याम कुमार भगतसँग विराटनगरबाट फर्किँदै थिइन् । लु. ८३ प. ८३९३ नम्बरको मोटरसाइकलका चालक सुनसरी इनरुवा–९ निवासी सुदेस राईले तीव्र गति र लापरवाही तरिकाले मोटरसाइकल चलाउदा दुर्घटना भएको पीडित पक्षको भनाइ छ । दुर्घटनामा श्रीमान् श्याम कुमार पनि सामान्य घाइते भएका छन् ।
गम्भीर घाइते भएकी ललिता कुमारीलाई तत्काल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हुँदै थप उपचारका लागि विराटनगर लगिएको थियो । उपचारकै क्रममा जेठ ३१ गते बिहान २ः१५ बजे उनको मृत्यु भएको अस्पतालले जनाएका छन् । श्रीमतीको मृत्युपछि श्याम कुमारले जिल्ला प्रहरी कार्यालय उदयपुरमा शनिबार किटानी जाहेरी दिएका छन् । हाल ठक्कर दिने मोटरसाइकल र चालक फरार रहेको छभने मृतकको शव जिल्ला अस्पताल उदयपुरको शवगृहमा राखिएको छ ।
भिडियोः