



उदयपुर । सुनसरीको दुहबी नगरपालिका–३ स्थित फुटानी चोक नजिकै शनिबार बिहान एक पिकअप भ्यान दुर्घटना हुँदा जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक विरोध खतिवडाको मृत्यु भएको छ।
प्रहरीका अनुसार मृतक खतिवडा आफ्नो उदयपुरस्थित घरबाट घरायसी सामग्री लिएर दुहबी जाँदै थिए । प्र २–०१–००१ च ०२५१ नम्बरको भ्यान तीव्र गतिमा रहेको र अनियन्त्रित भई बिहान ११:५० बजे सडक किनारको फलामे रेलिङमा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो ।
गम्भीर घाइते भएका खतिवडालाई तत्काल विराट टिचिङ अस्पताल लगिएको थियो । तर, उपचारकै क्रममा दिउँसो १२:२१ बजे उनको मृत्यु भएको हो । दुर्घटनामा भ्यान चालक चौदण्डीगढी नगरपालिका–६ का ३८ वर्षीय सुरेश कार्की र उनकी १४ वर्षीया छोरी रोजिना कार्की पनि घाइते भएका छन् ।
सुरेशको टाउको, छाती र अन्य भागमा चोट लागेको जनाइएको छ भने रोजिना सामान्य चोटपटकसहित खतरामुक्त रहेको प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । खतिवडा त्रियुगा नगरपालिका–८ राजाबास स्थायी घर भई हाल नारायणहिटी सुरक्षा गारद गुल्म, काठमाडौंको दरबन्दीमा जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत थिए ।