



उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्वर–४ बर्षेडाँडामा ट्याक्टरले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एकजना युवक घाइते भएका छन् ।
सोमबार दिउँसो करिब ३ः५० बजे मदन भण्डारी राजमार्गमा दुर्घटना हुदा महिलाको मृत्यु भएको हो भने एक युवक घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएका छन् ।
कार्यालयले जनाएअनुसार खोटाङबाट ईटहरीतर्फ जन्ती लिएर जाँदै गरेको को १ ख ४७२१ नम्बरको बस सडक किनारमा रोकिएको अवस्थामा यात्रुहरू बसबाट झरेर सडक पार गर्ने क्रममा पछाडिबाट आएको ना ३ त ८१० नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो ।
दुर्घटनामा परेर खोटाङ हलेसी तुवाचुङ नगरपालिका–४ की ४० वर्षीया गीता परियार गम्भीर घाइते भएकी थिइन् । उनलाई तत्कालै बेल्टारस्थित नगर अस्पताल पु¥याइएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, सुनसरीको ईटहरी उपमहानगरपालिका–२० का २३ वर्षीय युजन राई घाइते भएका छन् । उनलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको छ ।
दुर्घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।