उदयपुरमा ठेकेदारको लापरवाहीले सडक निर्माण अलपत्र, जिसस प्रमुखद्धारा अनुगमन

नयनराज राई
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ५ दमौटीस्थित दमौटी, बुर्जाकाल्ला, पात्लेबास, लालपत्ता, घनचक्रे सडक निर्माण योजना ठेकेदार कम्पनीको चरम लापरवाही र ढिलासुस्तीले अलपत्र बन्दै गएको छ । सम्झौता अनुसार निर्माण कम्पनीले समयमा सडक निर्माणको काम सम्पन्न नगर्दा हाल सर्वसाधारणले समेत सास्ती भोग्नुपरेको छ ।

सोही विषयलाई लिएर स्थानीयहरुबाट गुनासो बढ्न थालेपछि जिल्ला समन्वय समिति उदयपुरका प्रमुख गौरबहादुर बिश्वकर्माको एक टोलीले स्थलगत अनुगमन समेत गरेका छन् । सो टोलीले पैदल हिडेर लालपत्ता हुदै दमौटीसम्म अनुगमन गरेको थियो । ०७८ असोज १ गते सम्झौता भएपछि एससीएफ÷बीएनएस जेभी लाहान–३ सिराहाले सडक निर्माणको काम गर्दै आएको छ ।

०८० भदौ ३१ गतेसम्ममा निर्माण कार्य सम्पन्न गर्नुपर्ने भएपनि निर्माण कम्पनीले विभिन्न बहाना बनाएर अलपत्र अवस्थामा छोडेको छ । अहिले निर्माण कम्पनीले सामान्य सडक स्तरोन्नति समेत गर्न नसकेको स्थानीय विनोद मोतेले बताए । स्थानीय मोतेका अनुसार सडकको अवस्था चार वर्ष पहिलेकै जस्तै जिर्ण अवस्थामा रहेको छ ।

मोवाईलमा समाचार हेर्न तल Like गर्न नभुलौः

बाटो निर्माणपछि आवतजावतमा सहजताको सपना देखेको स्थानीयहरु ठेकेदार कम्पनीको चरम लापरवाही र ढिलासुस्तीले धुलाम्मे बाटोमा हिड्न बाध्य भएको अर्का स्थानीय चन्द्र बहादुर राईले बताए । राईले सम्झौता विपरित चरम लापरवाही र ढिलासुस्ती गर्ने निर्माण कम्पनीलाई कानुनी दायरामा ल्याएर कार्वाही गर्नुपर्ने माग समेत गरेका छन् ।

अहिले सहज ठाउँहरुमा सामान्य सडक निर्माणको काम भईरहेको छ । अनुगमपछि जिसस प्रमुख बिश्वकर्माले सडक निर्माणका लागि यथाशीघ्र पहल गर्ने बताए । उनले सडक निर्माणका लागि तत्काल सम्बन्धित निकायहरुसँग छलफल गर्ने बताए । प्रमुख बिश्वकर्माले तत्काल सडक निर्माण नगरे निर्माण कम्पनी एससीएफ÷बीएनएस जेभीलाई कार्वाही गरेर अगाडी बढ्ने समेत बताए ।

अनुगमन टोलीमा स्थानीय जनप्रतिनिधि, राजनैतिक दल, पत्रकार लगायत विभिन्न संघसंस्थाको प्रतिधिधिहरु समेत सहभागी रहेका थिए । सडक प्रदेश नम्वर १ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको १८ करोड ७५ लाख ८४ हजार ८६ रुपैया ६४ पैसा लागतमा निर्माण कार्य सुरु भएको हो । हाल ठेकेदारको ढिलासुस्ती र लापरबाहीका कारण सडक योजना समयमा सम्पन्न हुन नसक्दा यी योजना अलपत्र परेका हुन् ।

भिडियोः

Facebook Comments