मनोमानी ढंगले नियुक्ति गरेको भन्दै बल प्रयोग गरेर शिक्षकलाई रोक लगाउने तयारी

गजेन्द्र राई
त्रियुगा । उदयपुरको एक विद्यालयमा राहत अनुदान कोटाका वैकल्पिक शिक्षकलाई मनोमानी ढंगले नियुक्ति गरेको भन्दै स्थानीयहरु आन्दोलित बनेका छन् । यसरी आन्दोलित हुनेमा जिल्लाको त्रियुगा नगरपालिका ५ दमौतीका स्थानीयहरु रहेका छन् ।

उनीहरू स्थानीय जनता माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष कुबेर ग्रान्जामगर र प्रधानध्यापक रमाकान्त चौधरीले वैकल्पिक सूचीमा रहेको राहत अनुदान कोटाका शिक्षकलाई गोप्य र मनोमानी ढंगले नियुक्ति गरेको भन्दै आन्दोलित बनेका हुन् । आन्दोलनको क्रममा गत चैत्र २५ गते जिल्ला प्रशासन कार्यालय उदयपुरमा उजुरी समेत दिएका छन् ।

केही बर्ष यता सो कोटामा कार्यरत शिक्षक शुवास थापा यसअघिको शिक्षा आयोगको परिक्षामा उत्तीर्ण भएका छन् । तर, उनले स्थायी नियुक्ति नै लिन नपाई हतारोमा राजिनामा दिन लगाएर बैकल्पिक उम्मेदवारलाई नियुक्ति दिएको जिल्ला प्रशासन कार्यालयमा दिएको उजुरीमा उल्लेख छ ।


अहिले विब्यस अध्यक्ष मगर र प्रअ चौधरीले हाल शिक्षिकाको रुपमा रहेको सबिता थापालाई कानुन विपरीत नियुक्ति दिएको उनीहरुको आरोप छ । सबिता विब्यस अध्यक्ष मगर र प्रअ चौधरीको पार्टी निकट रहेको समेत उनीहरुको आरोप छ ।

उनीहरुले शिक्षिका सबिताको ठाउँमा कानुन बमोजिम नयाँ बिज्ञापन मार्फत प्रतिस्पर्धा गराएर नयाँ शिक्षक नियुक्त गर्नुपर्ने बताउदै आएका छन् । त्यसो नभए गैरढंगले नियुक्त भएका शिक्षिका सबितालाई बल प्रयोग गरेर विद्यालय प्रवेशमा रोक लगाउने तयारी समेत भईरहेको उनीहरू बताउँछन् ।

उक्त विद्यालय सामुदायिक भएपनि समुदायबाट सञ्चालित जस्तो गरेर विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनले सञ्चालन गरिरहेको उनीहरूको आरोप छ । त्यसरी अगाडी बढ्दा दुर्घना हुने भन्दै त्यसो नगर्न विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासन उनिहरुले आग्रह समेत गरेका छन् ।

सामुदायिक विद्यालय भनेको सरकारी विद्यालय भन्ने बुझिन्छ र सम्पूर्ण सञ्चालन, अनुगमन, नियमन तथा रेखदेख सरकारी स्वामित्वमा रहने गर्दछ । यता, समुदायद्वारा सञ्चालित विद्यालय भने सम्पूर्ण सञ्चालन, अनुगमन, नियमन तथा रेखदेखको जिम्मा समुदायमा नै रहने व्यवस्था शिक्षा ऐन २०२८ मा रहेको छ ।

भिडियोः

Facebook Comments