कांग्रेस शीर्ष नेताहरुको बैठक, निधिको राजीनामा पछि के निर्णय होला ?

काठमाडौँ, १८ बैशाख । नेपाली कांग्रेसको शीर्ष नेताको बैठक अहिले पार्टी कार्यालय सानेपामा जारी छ । बैठकमा सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्ण सिटौला, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवलगायतका नेताहरुको सहभागिता रहेको छ ।
बैठकमा प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाभियोग लगाइएको बारे सभापति शेरबहादुर देउवाले बैठकमा ब्रिफिङ गरेका छन् ।
बैठकमा सहभागि एक नेताका अनुसार कार्कीले कार्यक्षेत्र मिचेर मनपरी निर्णय गरेका कारण बाध्य भएर महाभियोग लगाइनु परेको भन्दै सो सही कदम भएको बताएका छन् । तर बैठकमा केहि नेताहरुले भने पार्टीभित्र छलफल नै नभई एकाएक अधियोग लगाइएको भन्दै असन्तुष्टि जनाएका थिए । यद्यपी उनीहरुले पनि कार्कीले गरेका फैसलाहरु कतै न कतै पूर्वाग्रहरी रहेको भन्दै अब जसरी पनि महाभियोग पास गराउनतर्फ लाग्नुपर्नेमा जोड दिएका छन् ।

बैठकमा गृहमन्त्री विमलेन्द्र निधिले राजीनामा दिएसँगै अब के गर्ने भन्ने विषयमा पनि छलफल भएको छ । बैठक स्रोतका अनुसार देउवाले एकपटक पुनः निधिसँग छलफल गरेर निर्णय फिर्ता लिन आग्रह गरिने तय गरिएको छ भने निधिले नमानेको अवस्थामा नयाँ मन्त्री पठाउने तयारी गरिएको छ । यद्यपी कसलाई सरकारमा पठाउने भन्ने विषयमा भने छलफल नै बाँकी रहेको बताइएको छ ।
निधिले कार्कीमाथि महाभियोग लगाइँदा आफूलाई कुनै जानकारी नगरिएको प्रति असन्तुष्टि जननाउँदै आइतबार नै प्रधानमन्त्रीलाई राजीनामा बुझाएका थिए ।
यसबाहेक बैठकमा स्थानीय तहमा पार्टीले उठाउने उम्मेद्वारको अन्तिम टुंगो लगाउने विषयमा पनि छलफल केन्द्रीत रहेको बताइएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *