गजेन्द्र राई
उदयपुर । उदयपुरमा एक कार्यवाहक वडा अध्यक्षले कानुन विपरित पद र छापको दुरुपयोग गर्दै आएको छ । अहिले पद र छापको दुरुपयोग भएको भन्दै स्थानीयहरुले बिभिन्न सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिन थालेका छन् । पद र छापको दुरुपयोग गर्नेमा जिल्लाको त्रियुगा नगरपालिका वडा नम्वर १२ का कार्यवाहक वडा अध्यक्ष अनिता थापा रहेका छन् ।
का.अ. थापाले वडा अध्यक्ष चुडाराज काफ्लेको मोटरसाईकल दुर्घनामा निधन भएपछि सो जिम्मेवारी पाएका थिए । काफ्लेको निधनपछि बसेको नगर कार्यपालिकाको बैठकबाट उनले का.अ.को जिम्मेवारी पाएका हुन् । जिम्मेवारी पाएसँगै का.अ. थापाले कानुन विपरित आधिकारिक वडा अध्यक्षको पद र छाप प्रयोग गर्दै आएको छ ।
यस बिषयलाई लिएर बिभिन्न सामाजिक सञ्जाल अन्तरगत फेसबुक मार्फत प्रतिक्रिया आउन थालेको छ । जस अनुसार चुडामणि ढुंगाना नाम भएको फेसबुक आईडीबाट केही प्रतिक्रिया सहित कार्यालयको लेटर प्याटमा भएको पद, छाप र हस्ताक्षर सार्वजनिक भएको छ । त्यस्तै अन्य फेसबुक आईडीहरुबाट पनि प्रतिक्रिया सहित लेटर प्याटमा भएको पद, छाप र हस्ताक्षर सार्वजनिक हुदै आएको छ ।
यस बिषयमा अधिवक्ता (कानुन व्यवसायी) बैकुण्ठ दाहालले आधिकारिक वडा अध्यक्षको पद र छाप कार्यवाहक वडा अध्यक्षले प्रयोग गर्न नमिल्ने बताए । अधिवक्ता दाहालका अनुसार कार्यवाहक वडा अध्यक्षले आधिकारिक वडा अध्यक्षको पद र छाप प्रयोग गरे किर्ते ठहरिने छ ।
तर, कार्यवाहक वडा अध्यक्षले वडा कार्यालयले गर्ने हरेक सिफारिस लगायत अन्य कागजपत्रमा आधिकारिक वडा अध्यक्षको पद र छाप प्रयोग गर्दै आएका छन् । कार्यवाहक वडा अध्यक्ष थापा स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित वडा सदस्य हुन् ।