एमाले निकट युवा संगठन विभाजित, रोशन र रशकुमारको नेतृत्मा समानान्तर कमिटि गठन

खोटाङ । खोटाङमा एमाले निकट युवा संगठन ‘राष्ट्रिय युवा संघ नेपाल’ विभाजित भएको छ । खोटाङको प्रमुख पर्यटकीय स्थल हलेसीमा शुक्रबार सम्पन्न संघको छैटौँ जिल्ला अधिवेशनबाट रशकुमार राई र रोशन राईको अध्यक्षतामा छुट्टाछुट्टै समानान्तर समिति गठन भएको छ ।

संघका उपमहासचिव रमेश तिवारी अध्यक्ष रहेको अध्यक्ष मण्डलबाट रोशनको अध्यक्षतामा ५९ सदस्यीय जिल्ला कार्यसमिति गठन भए लगत्तै असन्तुष्ट पक्षले रशकुमारको अध्यक्षतामा युवा संघको समानान्तर समिति गठन गरेको हो । बन्दसत्रमा सहमतिको प्रयास असफल भएपछि अध्यक्ष मण्डलले सदरमुकाम दिक्तेल पुगेर पार्टी कार्यालयबाट रोशन नेतृत्वमा युवा संघको जिल्ला कार्यसमिति गठन भएको अध्यक्ष मण्डकका एक सदस्यले बताए ।

रोशन नेतृत्वको युवा संघको उपाध्यक्षमा रामकृष्ण राई, सचिवमा सविन राई, उपसचिवमा लक्ष्मी गुरुङ, सुरेश राई र कोषाध्यक्षमा भैरव बस्नेत रहेका छन् । त्यसैगरी रशकुमार नेतृत्वको युवा संघको उपाध्यक्षमा पुस्कल राई, सचिवमा वीरेन्द्र मगर, सहसचिवमा जगत किराती, मनोज राई, समी थुलुङ र कोषाध्यक्षमा रमेश परियार रहेका छन् ।

रशकुमार नेतृत्वमा बनाइएको युवा संघको जिल्ला कार्यसमिति सदस्यहरु पनि अधिवेशनले टुङ्ग्याए बमोजिम हुने असन्तुष्ट पक्षले एक विज्ञप्ति जारी गर्दै जानकारी गराएका छन् । रशकुमार यसअघि संघ खोटाङको जिल्ला अध्यक्ष थिए । रशकुमार नेतृत्वले समानान्तर समिति गठन गरेको विज्ञप्ति सार्वजनिक गरेपछि रोशन नेतृत्वको समितिले आफूहरुलाई आधिकारिक दाबी गर्दै आएका छन् ।

पार्टी नेतृत्वले प्रतिनिधिहरुको भावनाविपरीत बन्द कोठाबाट जिल्ला समिति घोषणा गरेको, संगठनमा योगदान गरेका व्यक्तिको अवमुल्यान गर्दै विधानविपरीत आफ्नो मान्छेलाई समितिमा राखेर घोषणा गरेको असन्तुष्ट पक्षको आरोप छ । बन्दसत्रका लागि गठन गरिएको अध्यक्ष मण्डलका अध्यक्ष उपमहासचिव तिवारीले आकांक्षी धेरै भएकाले समस्या आएको बताए ।

उनका अनुसार खोटाङमा देखिएको समस्या समाधानका लागि दुवै पक्षसँग छलफल भइरहेको समेत बताए । अहिले युवा संघमा समानान्तर समिति गठन भएपछि सामाजिक सञ्जालमार्फत पार्टी नेतृत्वको विरोध सुरु भएको छ । जिल्ला अधिवेशन युवा संघका केन्द्रीय महासचिव क्षितिज थेवेले बिहीबार उद्घाटन गरेका थिए ।

भिडियोः

Facebook Comments