उदयपुर । त्रियुुगा साना शहरी तथा सरसफाई उपभोक्ता (संस्था) समिति उदयपुरको १३ औं साधारणसभा तथा अधिवेशनको खुल्लासत्र सम्पन्न भएको छ । शनिबार सम्पन्न सो कार्यक्रमको बन्दसत्र भने अधुरै रहेको छ ।
बन्दसत्रले आर्थिक तथा संस्थागत प्रतिवेदन मात्र प्रस्तुत गरेको छ । नयाँ कार्यसमिति चयन गर्नुपर्ने बन्दसत्रले प्राविधिक कारण त्यसो हुन नसकेको सचिब सन्तोष खड्काले बताए । सचिब खड्काका अनुसार बन्दसत्रले निर्वाचनको मिति घोषणा समेत बाँकी राखेको छ ।
जिल्लाको सदरमुुकाम क्षेत्रलाई समेटेको एकमात्र सो खानेपानी आयोजनाको करिब तीन हजार भन्दा बढी उपभोक्ताहरु रहेका छन् । बिशेषगरी बोक्से, रातमाटे, गाईघाट लगायतका ठाउँहरुमा उपभोक्ता रहेका छन् । अहिले स्वच्छ, सुलभ, र नियमिति खानेपानीको मुुद्दा लिएर नयाँ कार्यसमितिमा आकांक्षीहरु आफुलाई प्रस्तुत गर्न थालिसकेका छन् ।
उक्त कार्यक्रमको उद्घाटन प्रदेश नम्बर १ का सांसद् सिर्जना दनुवारले गरेका थिए । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, नागरिक समाज, बुछिजिवि, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।