उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका एक वडाअध्यक्षले शिक्षक कुटपिट गरेको भन्दै विभिन्न शिक्षक संगठनहरुले आपत्ति जनाएका छन् । उनिहरुले लिम्चुङबुङ गाउँपालिका वडा नम्बर ३ बाराहाका वडाअध्यक्ष गुरुमणी कुमाईले शिक्षक कुटपिट गरेको भन्दै यस्तो आपत्ती जनाएका हुन् ।
गाउँपालिकाका प्रवक्ता समेत रहेका कुमाईलाई स्थानीय शिक्षक राजन राउतलाई निर्घात हुने गरी कुटपिट गरेको आरोप छ । शिक्षक राउत अन्नपूर्ण आधारभूत विद्यालय बाजगरा कात्तिकेमा कार्यरत छन् । यसरी बिज्ञप्ती जारी गरेर आपत्ति जनाउनेमा नेपाल राहत शिक्षक जिल्ला कार्यसमिति उदयपुर रहेका छन् ।
आईतबार जारी बिज्ञप्तीमा समितिका अध्यक्ष गेसराज कार्की र सचिब कुमार राईको हस्ताक्षर रहेका छन् । त्यसैगरि नेपाल शिक्षक संघ लिम्चुङबुङ, नेपाल राष्ट्रिय शिक्षक संघ लिम्चुङबुङ, एकीकृत अखिल नेपाल शिक्षक संगठन लिम्चुङबुङ र राहत शिक्षक समिति लिम्चुङबुङले समेत संयुक्त बिज्ञप्ती जारी गरेर आपत्ति जनाएका छन् ।
सो संयुक्त बिज्ञप्तीमा नेपाल शिक्षक संघ लिम्चुङबुङका अध्यक्ष मोहन बहादुर खत्री, नेपाल राष्ट्रिय शिक्षक संघ लिम्चुङबुङका अध्यक्ष ढक बहादुर राईको हस्ताक्षर रहेका छन् । बिज्ञप्तीमा एकीकृत अखिल नेपाल शिक्षक संगठन लिम्चुङबुङका अध्यक्ष शिवराम राई र राहत शिक्षक समिति लिम्चुङबुङका अध्यक्ष पुन्न बहादुर खत्रीको समेत हस्ताक्षर रहेका छन् ।
जारी बिज्ञप्तीमा वडाअध्यक्ष कुमाईद्धारा आत्मारक्षाको नाममा स–परिवार मिलि डोरिले हातखुट्टा बाँधेर कुटपिट गरिनु जनप्रतिनिधि आफैले कानुन हातमा लिएको करा उल्लेख छ । बिज्ञप्तीमा अमानवीय तथा गैरकानुनी घटना प्रति संगठनको गम्भीर आपत्ति रहेको जनाएको छ । उनिहरुले दोषीमाथि सम्वन्धित निकायहरुबाट कडा कारवाहीको माग समेत गरेका छन् ।
पीडितका अनुसार मादक पदार्थ सेवन गरेका वडाअध्यक्षलाई अनियन्त्रित र अभद्र नहुन सुझाव दिदा शिक्षकले कुटाई खाएका थिए । शिक्षक राउतले वडाअध्यक्ष कुमाई र उनको आफन्तहरुले लखेटि लखेटि आफुलाई कुटपिट गरेको बताउदै आएका छन् ।