आईजिपी बन्न नवराज सिलवालले कासमु किर्ते गरेको पुष्टि : परिक्षण गर्दा भेटियो यस्तो रिपोर्ट !

काठमाडौं, १५ वैशाख ।  नेपाल प्रहरीका डिआईजी नवराज सिलवालले आफू आईजिपी बन्नका लागी नक्कली कार्यसम्पादन मुल्यांकन बनाएर सर्वोच्च अदालतमा पेश गरेको पुष्टि भएको छ ।

नेपाल प्रहरीको विधी विज्ञान प्रयोगशालाका विशेषज्ञले परिक्षण गर्दा सिलवालले किर्ते गरेको प्रमाणित भएको हो ।

महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा सिलवालले आफ्नो रिटको मिसिलमा संलग्न गरेको कार्यसम्पादन मूल्यांनको प्रमाणित कपी मागेर परिक्षणका लागी विधी विज्ञान प्रयोगशालामा पठाएको थियो । सिलवालले किर्ते गरेको बारे छानविन गर्न गठित समिति र महान्यायाधिवक्ताको कार्यालयलेसमेत सिलवालले कासमु किर्ते गरेको रिपोर्ट तयार पारेका छन् ।

गत चैत २८ गते सरकारले प्रकाश आर्याललाई आइजिपी नियुक्त गरेसँगै उक्त निर्णय बदरको माग गर्दै सर्वोच्च अदालत पुगेका सिलवालले प्रकाश अर्यालको भन्दा केही नम्बर बढी पाएको कपी अदालतमा बुझाएका थिए ।

कानुनअनुसार कासमु फाईल फोटोकपी गर्न पाईँदैन, तर सिलवालले नियमविपरीत कासमुको फोटोकपी गराएर त्यसैलाई नक्कली बनाएको बताउँछन् महान्यायाधिवक्ता रमन श्रेष्ठ ।

प्रहरी प्रधान कार्यालय, गृह मन्त्रालय र लोकसेवा आयोगमा मात्रै रहने कार्य सम्पादन मूल्यांकन अचानक लिक भएसँगै सरकारले त्यसबारे अध्ययन थालेको थियो । प्रधानमन्त्री कार्यालयमा बुझाइएको एक सुक्ष्म अध्ययन प्रतिवेदन अनुसार सिलवालले किर्ते गरेको भन्दै उनीमाथि थप अनुसन्धान तथा कारवाही अगाडी बढाउन सिफारिस गरिएको छ ।

२०७२ साउन १ गतेदेखी २०७३ साउन ३१ गतेसम्मको तत्कालिन डिआईजी प्रकाश अर्यालको कार्य सम्पादन मूल्यांकन फारममा कालिमाटी फन्टको प्रयोग भएको देखिएको छ । तर प्रहरी नियमावली २०७१ अनुसारको फारममा डिआईजी नवराज सिलवालको कासमुमा उत्सव र कालिमाटी गरी दुईओटा फन्ट प्रयोग भएको भेटिएको छ ।

उपेन्द्रकान्तको ठाउँमा वीरेन्द्रबाबुको हस्ताक्षर !

विधी विज्ञान प्रयोगशालाका विशेषज्ञहरुले परिक्षणको क्रममा नवराज सिलवालले पेश गरेको कासमुमा अनगिन्ती किर्तेका प्रमाणहरु रहेको प्रतिवेदन तयार पारेका छन् । ‘सुक्षम अध्ययन प्रतिवदेन’मा उल्लेख भएअनुसार परिक्षणका लागी इम्पोज गर्ने क्रममा सिलवाललको कासमुको स्याम्पल ‘ए’ मा लेखिएको ‘दस्तखत’ भन्ने शब्द ओभरराईट भएको छ । दस्तखतको ठीक माथि अक्षर ‘त र ख’ को अंश ओभरराईट भएको देखिएको छ ।

त्यस्तै स्याम्पल ‘एबी’ को तल्लो भाग किर्ते गरेर अर्को पेजमा पेष्ट गरेको पाइएको छ । सिलवालको विवादीत कासमुको छैटौं पानमा पुनरावलोकनकर्ता तत्कालीन आईजिपी उपेन्द्रकान्त अर्यालको मात्र हस्ताक्षर हुनुपर्नेमा एआईजी वीरेन्द्र्रबावु श्रेष्ठको अनावश्यक ठाउँमा हस्ताक्षर कपी गरी देखाइएको छ ।


छैटौं पेजको माथिल्लो भागमा पुनरावलोकन समितिमा रहेका तीन जनाको हस्ताक्षर हुनुपर्नेमा गृहसचिव लोकदर्शन रेग्मी एकजनाको मात्र हस्ताक्षर देखाईएको छ भने अन्य सदस्यहरु एआईजी वीरेन्द्रबावु श्रेष्ठ र तत्कालिन आइजिपी उपेन्द्रकान्त अर्यालको हस्ताक्षर नभएको पाईएको छ । सोही पेजको तल्लो भागमा एआईजी वीरेन्द्र्रबावु श्रेष्ठको मात्र हस्ताक्षर हुनुपर्नेमा लोकदर्शन रेग्मी र उपेन्द्रकान्त अर्यालको समेत कपी गरेर पेष्ट गरिएको भेटिएको छ ।


अध्ययन प्रतिवेदन अनुसार सिलवालले बदनियतपूर्वक प्राप्तांकको अंशलाई कम्प्युटरद्वारा छुट्टाछुट्टै स्क्यान गरेर वा फोटो इडिटिङ सफ्टवेयर प्रयोग गरेर परिवर्तन गरेको देखिएको छ ।

छानविन प्रतिवेदनले गोप्य रहनुपर्ने सरकारी लेखोट सिलवालले नै सञ्चारमाध्यममा दिएको हुनसक्ने पर्याप्त सम्भवना देखिएको भन्दै सिलवालले उक्त डकुमेन्ट कहाँबाट कसरी प्राप्त गरी किर्ते गरे भन्नेबारे अनुसन्धान हुनुपर्ने निष्कर्ष निकालेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *