उदयपुर । थानीय तहमा निर्वाचित एकल महिलालाई मानव अधिकारका लागि महिला एकल महिला समुहले सम्मान गरेको छ । सदरमुकाम गाईघाटमा एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई प्रशंसा पत्र र दोसल्लाले सम्मान गरिएको हो ।
प्रतिकुल समयमा पनि एकल महिलाको क्षेत्रबाट प्रतिनिधित्व गरेकोमा थप हौसला र जनता प्रति उत्तरदायि बनाउन सम्मान गरिएको अध्यक्ष शोभा दहालले बताईन् । उनले भनिन्, ‘अझै पनि सामाजिक रितिरिवाज र कुसंस्कारको चपेटामा एकल महिला छन्, तसर्थ उनीहरुलाई खुल्ला समाज र परिवेशमा प्रस्तुत हुन् र निर्वाचित जनप्रतिनिधिलाई हौसला प्रदान गर्न सम्मान कार्यक्रमले सहयोग पुग्ने छ ।
कार्यक्रममा त्रियुगा नगरपालिकाका उपमेयर महेश्वरी राईले एकल महिला अझै पनि सामाजिक विभेदमा रहेकाले उनीहरुलाई संगठित गर्दै एकल महिलाको अभियानलाई सार्थक तुल्याउने बताईन् । एकल महिला विरुद्ध हुने जुनसुकै विभेदको अन्त्य गर्न नगरपालिका सहकार्य गर्न तयार रहेको बताईन् ।
त्यसैगरी सामाजिक अभियन्ता तथा एमाले नेतृ सृजना दनुवारले समाजमा अहिले पनि एकल महिला प्रति हेर्ने दृष्टिकोण सकारात्मक नभएको बताईन् । उनले राजनीति आश्था र विचार प्रवाहकैकारण एकल महिलालाई समाजमा खुल्न सहज बन्दै गएको बताईन् । सोही अवसरमा निर्वाचित मेयर, उपमेयर, वडाध्यक्षलाई वधाई तथा शुभकामना दिइएको थियो ।
कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले महिला सन्तान उत्पादन गर्ने भण्डार मात्र नभई नेतृत्व लिन सक्ने क्षमता महिलामा रहेकाले अवसर वाँडफाँड गरेर जानु पर्ने बताए । उनीहरुले एकल महिलालाई माया र विचारमात्र नभई काम गर्ने अवसर आजको आवश्यकता भएको बताए । कार्यक्रमको समापन गर्दै अध्यक्ष दहालले बाँकी सबै स्थानीय तहमा कार्यक्रमको आयोजना गरिने बताईन् ।