उदयपुरमा शान्तिपूर्वक मतदान, सबै ठाउँमा उत्साहजनक उपस्थिति

उदयपुर । उदयपुरमा रहेको सबै नगरपालिका र गाउँपालिकाहरुमा शान्तिपूर्ण मतदान भईरहेको छ । चार गाउँपालिका र चार नगरपालिका गरी आठ स्थानीय तह रहेको जिल्लामा शन्तिपूर्ण मतदान कार्य भईरहेको हो ।

जिल्लामा दुई लाख २३ हजार १ एक ३८ मतदाता रहेका छन्भने ९८ मतदान स्थान र २ सय ५८ मतकेन्द्र रहेको मुख्य निर्वाचन अधिकृत दिपक खनालले बताए । उनका अनुसार सबै ठाउँ समयमै (विहान ७ बजेदेखि) मतदान गर्ने कार्य सुरु भएको थियो ।

अहिले सबै ठाउँमा उत्साहजनक मतदाताहरुको उपस्थिति रहेको छ । विहानै देखि मतदानस्थलमा भिडभाड देखिएको छ । भिडलाई ब्यवस्थित पार्दै पुरुष, महिला र बृद्धबृद्धा, अपाङ्ग, अशक्त, गर्भवतीका लागि छुट्टाछुट्टै लाईन ब्यवस्था मिलाइएको छ । मतदानका लागि मौसमले साथ दिएको छ ।

वर्षात हुने पूर्वानुमानका कारण मतदानस्थलमा त्रिपाल टागेर मतपत्र तथा पेटीकाको सुरक्षा गरिएको छ । राम्रो मौसमका कारण जिल्लाभर नै मतदान कार्य सन्चालन सहज भएको जनाइएको छ ।

मतकेन्द्र, मत पेटीका, मतदान स्थल तथा मतदानस्थल वरपर नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरीले सुरक्षा घेरा लगाएको छ भने बाहिरको शान्ति सुरक्षालाई मध्येनजर गर्दै नेपाली सेनाले गस्ती गरिरहेको छ ।

Facebook Comments