लिमचुङबुङ गाउँपालिकाका अध्यक्ष बैठक पुस्तिका खोसेर फरार

लिमचुमबुङ । उदयपुरको लिमचुमबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राई बैठक पुस्तिका (माईन्युट बुक) खोसेर फरार भएका छन् । नेकपा (माओबादी केन्द्र)का गाउँ कमिटी अध्यक्षसमेत रहेका राईले बैठक चलिरहेका बेला माईन्युट बुक खोसेर फरार भएका हुन् ।

आसन्न स्थानीयतह निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षलगायत उम्मेदवार छानेर नाम सिफारिस गर्न सोमबार दिउसो बसेको पार्टी बैठकबाट फरार भएका उनी मंगलबार दिउसो साढे ३ बजेसम्म सम्पर्कविहीन भएको गाउँ कमिटी उपाध्यक्ष दिनेश राईले बताए । उपाध्यक्ष राईका अनुसार अध्यक्ष राई उम्मेदवार छान्ने विषय छिनोफानो नगरी कार्यक्रमस्थलबाट फरार भएको थियो । फरार भएका राईलार्ई पटकपटक फोन सम्पर्क गर्दा सम्पर्क हुन नसकेको समेत उनले बताए ।

उम्मेदवारको नाम चयन विषयमा छलफल हुँदा अध्यक्षका लागि ५ जनाले आकांक्षा व्यक्त गरेका थिए । जस अनुसार सहमति जुटाउन एकठाउँ बसेर लछफल गरी निकास निकाल्न आकांक्षी सबैलाई बैठकले निर्देशन दिएपछि ५ जना बैठकस्थलबाट बाहिर निस्केर छलफल जुटेका थिए । तर, छलफलको क्रममा उनले आफुसमेत २ जनाको मात्र नाम सिफारिस गर्ने अरुले छाड्नुपर्नै उनको प्रस्तावप्रति अरु आकांक्षीले असहमति जनाएका थिए ।

मोवाईलमा समाचार हेर्न तल Like गर्न नभुलौः

सहमति नभएपछि छलफलस्थलबाटै फरार भएका उनले बैठकस्थलमा माईन्युट लेख्दै गरेको सहसचिव नन्द राईलाई बोलाएर माईन्युट बुक लिएर फरार भएको प्रत्यक्षदर्शीहरु बताउछन् । फरार भएका अध्यक्ष राई नफर्केपछि बैठकमा सहभागीहरुले बैठक स्थगित भएको सूचना जारी गर्नुपर्ने कि सम्पन्न गर्नुपर्ने माग गरेका थिए ।

एता सचिव मनोज बुढाथोकीले बैठकमा फर्कन आग्रह गर्दा आफैले समय तोकेर बैठक बोलाउने भनेपछि २४ घण्टा बितिसक्दासम्म नपर्केपछि उपाध्यक्षको अध्यक्षतामा बैठक बसेर निर्णय गर्न लागेको अध्यक्षका आकांक्षीसमेत रहेका सचिव बुढाथोकीले बताए । आकांक्षीमध्ये ३ जनाको सहमति जुटाउन खोज्दा कसैले नछासडेपछि “अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भयो है” भनेर उनी हिडेको बुढाथोकीको भनाई छ ।

पार्टी गाउँ इन्चार्ज झनक घिमिरेले बैठकस्थल छाडेर बेपत्ता भएका अध्यक्ष राई २४ घण्टाभन्दा बढी समयसम्म अनुपस्थित भएपछि उपाध्यक्षको अध्यक्षतामा बैठक बस्ने तयारी भईरहेको बताए । आफै पनि अध्यक्षका आकांक्षी रहेका बिकले माथिल्लो निकायको निर्देशन लिएर बैठक बसी उम्मेदवारहरुको नाम तय गर्ने जानकारी दिए ।

अध्यक्षको यस्तो गतिबिधिपछि पार्टी अगुवा कार्यकर्ताहरुले असहमति जनाएका छन् । पार्टी निकट अखिल नेपाल शिक्षक संगठन लिमचुङबुङका अध्यक्षसमेत रहेका गाउँ पार्टी सचिवालय सदस्य शिवराम राईले चलिरहेको बैठकस्थलबाट निर्णय पुस्तिकासमेत लिएर २४ घण्टासम्म अनुपस्थित हुनु पार्टी विधि, पद्धति र अनुशासनविरोधी कार्य भएको बताए ।

अर्का सचिवालय सदस्य मानबहादुर कार्कीले अध्यक्षको गतिबिधि हदभन्दा बाहिर गएको प्रतिक्रिया दिए । “अध्यक्षज्युमा पार्टीभन्दा व्यक्ति ठूलो हो भन्ने मानसिक्ता लिएको पाइयो” कार्कीले भने “यस्तो गतिबिधिले पार्टीलाई हितभन्दा बढी हानी गर्ने निश्चित छ ।”

पार्टी युवा संघ योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपालका केन्द्रीय सदस्य तथा गाउँ इन्चार्ज जितेन राईलगायत अन्य सदस्यहरुले पनि अध्यक्ष राईको व्यवहारप्रति रोष व्यक्त गरेका छन् । उनीहरुले पार्टी अनुशासनभन्दा बाहिर गएका उनलाई कारबाही गर्न माथिल्ले कमिटीसमक्ष आग्रह गर्नुपर्ने माग पनि गरेका छन् ।

तर, यस विषयलाई अध्यक्ष राईले ठाडै अस्वीकार गरेका छन् । उनले आफु फरार नभएको र सबै साथीहरुसँग सम्पर्कमा रहेको बताए । उनले केन्द्रको नीति निर्देशन अनुसार काम गरिरहेको पनि बताए । त्यही अनुसार स्थानीय निर्वाचनको लागि गाउँपालिका अध्यक्ष पदका ५ जना आकांक्षी मध्ये २ जनाको नाम प्रदेश कमिटीमा सिफारिस गरिएको समेत उनले बताए ।

Facebook Comments