सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा फोहोरको मात्रा बढेपछि पर्यटन व्यवसायीले चिन्ता व्यक्त गर्न थालेका छन् । सगरमाथाको फोहोर व्यवस्थापनको जिम्मा पाएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीपीसी)ले जिम्मेवारी पूरा नगर्दा फोहोर बढेको भन्दै व्यवसायी चिन्तित बनेका हुन् ।
कस्मो ट्रेक प्रालिमार्फत सगरमाथा आरोहणको तयारीका लागि क्याम्प– २ मा पुग्नुभएका किताबसिंह तामाङले उक्त क्षेत्रमा फोहोरको मात्रा बढेको बताउनुभयो । फलामको डन्डी, सिसा, बोतललगायत फोहोर जताततै रहेको उहाँले बताउनुभयो ।
समिट नेपाल टे«क प्रालिका पथप्रदर्शक दावा तामाङ आरोहीलाई सामग्री भन्दा पनि आफू कसरी सकुशल फर्कने भन्ने हतारका कारण फोहोरको मात्रा बढेको बताउनुहुन्छ । सम्बन्धित निकायले समयमै सफा गर्न ध्यान नदिए पर्यटनमा असर पुग्ने उहाँको भनाइ छ ।
आरोही र कामदारले फोहोरलाई आफैँले फिर्ता ल्याउनुपर्ने पर्वतारोहण नियमावलीमा उल्लेख छ । नष्ट गर्न सकिने, पुनः प्रशोधन गर्न सकिने, र पुनः निकासी गर्नुपर्ने गरी फाहोरलाई तीन भागमा वर्गीकरण गरिएको छ । क्याम्प १ भन्दामाथी रहेको फोहोर सगरमाथा आधार शिविर ल्याएर जलाउनुपर्ने, पुनःप्रशोधन गर्न सकिने फोहोर काठमाडौँ महानगरपालिकामा लगेर बुझाउनुपर्ने तथा पुनः निकासी गर्नुपर्ने भए सम्बन्धित आरोहीले आफ्नो देशमा फिर्ता लैजानु पर्ने कानुनी प्रावधान छ ।
यस क्षेत्रको फोहोरमैला व्यवस्थापन गर्नका लागि २०५४ सालदेखि सगरमाथा प्रदूषण नियन्त्रण समितिले प्रतिआरोही ६०० डलर लिने गरेको छ । उक्त शुल्कबाट शौचालय निर्माणदेखि फोहोर सङ्कलन केन्द्र स्थापना गर्ने गरिएको छ । तर सो समितिले फोहोरको व्यवस्थापनमा ध्यान नदिएको आरोहीको आरोप छ ।
सगरमाथा प्रदूषण नियन्त्रण समिति ९एसपीसीसी०का अध्यक्ष आङदोर्जे शेर्पा आधारशिविरभन्दा माथिको फोहोर सङ्कलनको जिम्मा समितिको नभएको बताउनुहुन्छ । प्रत्येक आरोही र कामदारलाई आठ किलोग्राम फोहोर आधारशिविरसम्म ल्याउन लगाउने र क्याम्प २ मा कर्मचारी राखेर अनुगमन गरी प्रदूषण गर्नेलाई कारबाही गर्ने गरिएको उहाँको दाबी छ ।
पर्यटन विभागले क्याम्प २ देखि चुचुरोसम्मको बाटो सरसफाइ गर्नका लागि पर्वतारोही सञ्चालक सङ्घलाई जिम्मा दिएको छ । तर तर त्यसको कार्यान्वयन नहँुदा समस्या भएको हो ।