बुढेसकालमा भोट हाल्ने रहर

खोटाङ ।  खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाकी ८२ वर्षीय वृद्धा गोमा दाहालले भोट नहालेको १९ वर्ष नाघिसक्यो । २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा भोट हाल्न जाँदा उनी ६३ वर्षकी थिइन् । उसबेला उनलाई हिँडडुल गर्न लट्ठीको साहरा लिनु पर्दैनथ्यो । तर, त्यसपछिको निर्वाचन कुर्दा कुर्दै दाहाल वृद्धावस्था र लट्ठी टेक्ने अवस्थामा पुगिसकिन् । २०५४ सालमा सँगै भोट हालेका उनका कतिपय दौंतरीहरू बितिसकेका छन् ।

‘अर्कोपल्टको चुनावसम्म त मरिन्छ बाँचिन्छ टुंगो हुँदैन, त्यही भएर यस पटकको निर्वाचनमा असल व्यक्तिलाई जिताउनु पर्छ ।’

वैशाख ३१ गते चुनाव भए जुनसुकै हालतमा मत दिने तरखरमा छिन् उनी । ‘यसपल्ट त चुनाव हुन्छ होला, लट्ठी टेक्दै भए पनि भोट दिन जाइन्छ,’ दाहालले भनिन्, ‘यसपल्ट पनि चुनाव नभए अर्कोपल्ट त भोट दिन भेटिन्छ–भेटिन्न के टुंगो ! एकपल्ट भए पनि भोट हालेर मात्रै जाउँ भनेको ।’

उमेरले डाँडामाथिको घामको अवस्था, कुनबेला अस्ताउँछ पत्तो हुन्न । २०५४ सालपछिको अर्को निर्वाचन पर्खनेक्रममा कैयौं सग्ला मतदाता पनि हाल साथमा लट्ठी लिएर हिँड्ने भइसकेका छन् । तर, तोकिएकै मितिमा निर्वाचन भए ‘मत दिएर मर्न पाइने’ रुपाकोट मझुवागढी नगरपालिका–२ का ७९ वर्षीय फटिककुमार दाहाल बताउँछन् । ‘हामी त डुव्नेबेलाका घाम हौँ, कुनबेला डुबिन्छ पत्तो हुन्न,’ फटिककुमारले भने, ‘बिलम्व नभए यसपल्टको निर्वाचनमा नहाली मरिन्न होला, पछिको कुरा त के हुन्छ कसलाई थाहा छ र !’ फेरी निर्वाचनको मिति सारिए आफूजस्ता धेरै वृद्धवृद्धा मताधिकार प्रयोग गर्न नपाउँदै अस्ताउने उनी बताउँछन् ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङमा करिब ५० हजारको हाराहारीमा वृद्धवृद्धा छन् । लामो समयसम्म भोट हाल्न नपाएको, मन परेको योग्य उम्मेदवारलाई छान्न नपाएको भोक युवापंक्तीमा मात्र छैन वृद्धवृद्धामा पनि छ । देशमा दुई दशकसम्म निर्वाचन हुन सकेन । यसअघि ‘टर्दै आएको निर्वाचन यसपल्ट नटरोस्’ भन्ने उनीहरूको चाहना छ । उनीहरू पनि स्थानीय तहको निर्वाचन कुरिरहेका छन् । वृद्धवृद्धा समस्या र दुःखकष्ट सुनिदिने जनप्रतिनिधि छान्न उत्सुक छन् । त्यही भएर यसपल्टको स्थानीय तहको निर्वाचनले वृद्धवृद्धामा उत्साह छाएको जिल्ला ज्येष्ठ नागरिक संघ खोटाङका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताउँछन् । ‘ढिलै भए पनि भोट खसालेर मात्र मरिने भो भनेर वृद्धवृद्धामा एक खालको उत्साह छ,’ अध्यक्ष घिमिरेले भने, ‘अर्कोपल्टको चुनावसम्म त मरिन्छ बाँचिन्छ टुंगो हुँदैन, त्यही भएर यस पटकको निर्वाचनमा असल व्यक्तिलाई जिताउनु पर्छ भन्ने उनीहरूमा देखिन्छ ।’

२०७० सालको संविधानसभाको निर्वाचनमा ९९ हजार ६६४ जना मतदाता रहेको जिल्लामा आगामी निर्वाचनमा १ लाख १५ हजार ६४४ मतदाता सहभागी हुँदैछन् । उनीहरूमध्ये वृद्धवृद्धा पनि ‘भोट दिने दिन’ गन्दै बसिरहेका छन् । हरेक पार्टीले आयोजना गरेको चुनावीसभामा लट्ठी समाएका वृद्धवृद्धाको बाक्लो उपस्थिति देखिने गरेको छ । जनताद्वारा निर्वाचित प्रतिनिधि भए हरेक गाउँका कुना कन्दरामा सिस्टममा विकासको लहर पुग्ने भएकाले पनि चुनावको प्रतिक्षा गर्नुपरेको खार्मीका प्रभुराम दाहालले बताए ।

चुनावको मिति घोषणासँगै जिल्लामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरम, नेकपा माले, खम्बुवान राष्ट्रिय मोर्चा, नयाँ शक्ती नेपाल लगायतका दलले चुनावी अभियानलाई बाक्लो बनाएका छन् । चुनावका लागि नगर र वडाका उम्मेदवारको टुंगो लगाउनेक्रम जारी छ । चुनावी सारगर्मीले निर्वाचनप्रतिको आशा जगाउँदै लगेको छ । जिल्ला निर्वाचन कार्यालयले पनि निर्वाचनको तयारी गरिरहेको छ ।

ad

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *