प्रधानमन्त्री ओलीको कदमले मुलुक अँध्यारोतर्फ धकेलियोः नेता राई

गाईघाट । नेकपा केन्द्रीय सदस्य समेत रहेका प्रदेश १ का सचिव तथा सांसद सुरेशकुमार राई ‘हिमाल’ले संसद विघटन गरेर प्रधानमन्त्री केपी ओलीले मुलुकलाई अँध्यारोतर्फ धकेलिएको बताएका छन् ।

मंगलबार नेकपा प्रचण्ड–माधव समूहको आयोजनामा सदरमुकाम गाईघाटमा सम्पन्न विरोधसभालाई संबोधन गर्दै नेता राईले प्रधानमन्त्री ओलीको संसद विघटनको कदमले कम्युनिष्ट आन्दोलनै विघटनको पाटोमा गएको बताए ।

उनले कुनै हालतमा मध्यावधि निर्वाचन नहुने ठोकुवा समेत गरेका छन् । नयाँ जनादेशका लागि संसद विघटन गरेको भने पनि ओली नयाँ लेन्डुप दोर्जे बन्न चाहेको आरोपसमेत लगाए ।

अर्का केन्द्रीय सदस्य तथा पूर्व सांसद जगन्नाथ खतिवडाले पार्टी एकीकरणदेखि नै अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले विधि, नीति र पद्धतिको बर्खिलाप गर्दै आएको र अन्ततः कम्युष्टि आन्दोलनलाई नै समाप्त पार्ने पश्चगामी कदम चालेको आरोप लगाए ।

पार्टीका अन्य नेताहरुले अनुशासन, पार्टी सञ्चालन विधि र पद्धति लागु गर्न अनुरोध गर्दा सनकको भरमा संसद विघटन गरेर दुईतिहाई बहुमतको जनादेशमाथि लात हानेको आरोप खतिवडाको थियो ।

मोवाईलमा समाचार हेर्न तल Like गर्न नभुलौः


संसद पुनस्र्थापना गर्नका लागि नेकपाले देशव्यापी सडक संघर्ष थालेको बताउँदै नेता खतिवडाले नेकपाजस्तो ठूलो पार्टीका अध्यक्ष ओली स्वयंले पार्टी विधान, नीति र पद्धतिको उल्लंघन गर्दा ७ दशक लामो नेपाली कम्युनिष्ट आन्दोलन धरासायी हुने खतरा बढेको बताए ।

अर्का केन्द्रीय सदस्य तथा नेकपा जिल्ला इन्चार्ज बलदेव चौधरीले प्रधानमन्त्री ओलीले चालेको पश्चगामी कदमको भत्र्सना गर्दै संसद पुनस्र्थापना र पार्टी एकताको पक्षमा तमाम नेता कार्यकर्ता अहिले पनि एकताबद्ध रहेको बताए ।

जनताले दिएको दुईतिहाई नजिकको विशाल जनमतको कदर गर्नुपर्नेमा बलात र हठात संसद विघटन गरेर आलीले प्रतिगमन र पश्चगमनलाई फाईदा पुर्याएको उनले बताए ।

सभामा संविधानसभा सदस्य मणि खम्बु, प्रदेशसभा सांसदहरु नारायण बुर्जामगर र सुनिता चौधरीले ओलीको कदमलाई असंवैधानिक भन्दै ताजा जनादेश लिने नाममा प्राप्त उपलब्धी गुम्ने र दुईतिहाई नजिकको जनादेश कुल्चने काम गरेको बताए ।

उनिहरुले नेता कार्यकर्तालाई ओलीपक्षले पद, पैसा र अवसरको बिभिन्न प्रलोभन र धाकधम्की दिएर आफुतिर तान्ने हर्कत गर्न खोजेको भन्दै त्यस्तो कार्य निन्दा र भत्र्सनायोग्य भएको टिप्पणी गरे ।

नेकपा जिल्ला कमिटी सचिव इश्वरमणि राउतको सञ्चालन र सचिवालय सदस्य जीवन कार्की (कुशल) को स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा जिल्ला अध्यक्ष विनोद कटुवाल (दिवस) ले नेकपाको अध्यक्ष र प्रधानमन्त्रीजस्तो सर्वोच्च ओहदामा रहेका बेला केपी ओलीले संसद विघटन गर्नु देश र जनताका लागि मात्र नभएर सिंगो कम्युनिष्ट आन्दोलनप्रति नै गम्भीर धोका भएको बताए ।

२००६ सालमा स्थापित पार्टीलाई यति ठूलो बनाउदासम्म हजारौं नेता कार्यकर्ताको रगत, पसिना र बलिदानी भईसकेको भन्दै त्यस्तो कम्युनिष्ट आन्दोलनलाई ओलीले क्षणभरमै समाप्त पारेको आरोप अध्यक्ष कटुवालको थियो ।

ओलीको यो कदम जनघाती र राष्ट्रघाती मात्र नभएर आत्मघातीसमेत भएको भन्दै उनले निन्दा गरेका थिए । कार्यक्रम गर्नुअघि निस्केको विशाल र्यालीले गाईघाट बजार परिक्रमा गरेको थियो ।

Facebook Comments