वास्तविक कृषकलाई भन्दा उदयपुरमा नक्कली कृषकलाई बढी अनुदान

उदयपुर । वास्तविक कृषकहरुले भन्दा नक्कली कृषकहरुले उदयपुरमा अनुदान कुम्याउने गरेको कृषकहरुले गुनासो गरेका छन् । आईतबार कृषि ज्ञान केन्द्र उदयपुरले आयोजना गरेको वार्षिक कार्यक्रम सार्बजनिकिकरण गोष्ठीमा सहभागी कृषकहरुले यस्तो गुनासो गरेका हुन् ।

उनिहरुले कृषकको नाममा नक्कली र ठगि कृषकहरुले अनुदान कुम्याउने गरेको बताए । अनुदानको कार्यक्रम र योजना वास्तविक कृषक लक्षित बनेपनि नक्कली र ठगि कृषकहरुले त्यसको फाईदा उठाउने गरेको उनिहरुको भनाई थियो ।

उनिहरुले कृषक र भुगोलको औचित्याको आधारमा योजना तथा कार्यक्रम बनाउनको निम्ति सम्वन्धित निकायहरुलाई सुझाव दिएको छ । प्रदेश सांसदहरुको विशेष आतिथ्यमा भएको कार्यक्रममा पालिका प्रमुख, कृषि प्राविधिक, कृषक र पत्रकारहरुको सहभागिता थियो ।

प्रदेश सांसदहरु विमल कार्की, अम्बिका थापा, कला घले, सुनिता चौधरी र सञ्जा दनुवारको उपस्थिति थियो । पालिकातर्फ बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापा र रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काको उपस्थिति थियो ।

कार्यक्रम जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर परियारको अध्यक्षतामा भएको थियो भने केन्द्रका निमित्त कार्यालय प्रमुख प्रकाश विश्वकर्माले गतवर्षको प्रगति प्रतिवेदनसमेत प्रस्तुत गर्दै आगामी कार्यक्रम प्रस्तुत गरेका थिए ।

Facebook Comments