रौतामाई । उदयपुरको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले समाचारमा आएजस्तो औषधि खरिद प्रक्रियामा कमजोरी नरहेको बताएका छन् । केहीदिन अघि बिभिन्न मिडियामा आएको समाचारको खण्डन गर्दै औषधि खरिद प्रक्रियामा कुनै पनि कमजोरी नगरेको उनको भनाई छ ।
उनका अनुसार औषधी र सर्जिकल स्वस्थ्य सामग्री खरिद गर्नका लागि सार्बजनिक खरिद ऐन २०६३, सार्वजनिक खरिद नियमावली २०६४ एवम् अन्य नेपाल कानुनको अधिनमा रहेरै खरिद प्रक्रिया पुरा गरिएको थियो । आर्थिक वर्ष २०७७ र ०७८ का लागि ३४ लाख रुपैया विनियोजन गरी गाउँपालिकाको निर्णयानुसार सिलबन्दी दरभाउ पत्र आव्हान गरिएको अध्यक्ष खड्काले बताए ।
स्वास्थ्य उपचारपछि काठमाडौंबाट गृह जिल्ला फर्केका अध्यक्ष खड्काले उदयपुरको बरुवाटाइन्स दैनिक र काठमाडौंको सिटिपोष्ट दैनिकमा भदौ ५ गते सूचना प्रकाशन भएको र सूचनाको आधारमा ६ वटा सप्लायर्सहरुले फर्म खरिद गरिएको बताए । गाउँपालिकामा समेत सूचना टाँस गरिएको भन्दै पारदर्शीढंगले काम भएको उनको भनाई छ ।
आफु उपचारको सिलसिलमा काठमाडौं रहेको बेला मिडियाबाजी भएका कुराहरु गाउँपालिका फर्किएर राम्ररी बुझ्दा औषधी खरिद प्रक्रियामा कुनै कमजोरी फेला नपरेको बताए । कर्मचारीले सेटिङ मिलाएको र खरिद प्रक्रिया पुरा नगरेको भन्ने कुरामा सत्यता नरहेको भन्दै गाउँपालिकाद्धारा शनिबार एक विज्ञप्तीसमेत जारी गरिएको थियो । कर्मचारीहरुबाट कमि कमजोरी रहेको खण्डमा कारवाहीको दायरामा ल्याउने तत्परता जनाउदै अध्यक्ष खड्काले भ्रामक कुराको पछि नलाग्न सबैलाई आग्रह गरेका छन् ।