उदयपुर । उदयपुरको बिभिन्न कृषि समुहलाई पावर टिलर बितरण गरिएको छ । खेति गर्ने क्रममा कृषकलाई सहज होस् भन्ने उद्देश्लयले प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना अन्तरगत परियोजना ईकाई उदयपुरले आईतबार सो पावर टिलर बितरण गरेको हो ।
पावर टिलर बिभिन्न ६ ओटा कृषि सहकारी संस्थाहरुलाई अनुदान स्वरुप बितरण गरिएको कार्यालय प्रमुख राम सोगारत साहले बताए । प्रमुख साहका अनुसार १८ एचपीको पावर टिलर बेलका नगरपालिका ५ स्थित तामाङ एकिकृत कृषि तथा पशुपन्छि फर्मलाई एक थान र चौदण्डिगढी नगरपालिका ८ स्थित हरियाली कृषि सहकारी संस्था लिमिटेडलाई २ थान बितरण गरिएको छ ।
यसैगरि अदुवा बेसार उत्पादन प्रयोजनको लागि ६ एचपीको मिनी टिलर त्रियुगा नगरपालिका १४ साउने स्थित श्रद्धा महिला कृषि सहकारी संस्था लिमिटेडलाई एक थान र रौतामाई गाउँपालिका ४ स्थित सल्लेनी महिला कृषि सहकारी संस्था लिमिटेडलाई २ थान बितरण गरिएको छ ।
त्यसैगरि रौतामाई गाउँपालिका ६ स्थित गगन कृषक समुहलाई १ थान र रौतामाई गाउँपालिका ५ स्थित उद्देश्य प्रेरित कृषक समुहलाई १ थान बितरण गरिएको छ । पावर टिलर ६ लाख ८० हजार रुपैया बराबर पर्ने कार्यालयले जनाएको छ । उक्त सामाग्री जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्ग परियार र पुर्व सभासद् मणी खम्बुले बितरण गरेका थिए ।