



रुपन्देही, २५ चैत । माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य वर्षमान पुन अनन्तले प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको चुनाव कात्तिकमा सार्न प्रस्ताव गरेको खुलासा गर्नुभएको छ ।
प्रेस सेन्टर नेपाल पाँच नम्बर प्रदेशले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले एमालेको प्रस्ताव ठाडै अस्विकार गर्दै वैशाख ३१ मै चुनाव गर्न माओवादी केन्द्र र सरकार प्रतिबद्ध रहेको दाबी गर्नुभएको हो ।
‘हामी पनि सरकारमा आउँछौ, तपाईहरुको नेतृत्वमा तीन तहकै चुनाव गरौँ, स्थानीय तहको चुनाव कात्तिकमा सारौं भन्ने प्रस्ताव एमालेको शीर्ष नेतृत्वबाटै आएको छ तर हामी गठबन्धनप्रति प्रतिबद्ध छौँ, स्थानीय तहको चुनावपछि कांग्रेसलाई सत्ता हस्तान्तरण गर्दछौँ’ उहाले भन्नुभयो । एमालेले चुनावको चर्का चर्का कुरा गरेपनि भित्रि रुपमा स्थानीय चुनाव सार्न प्रस्ताव गर्नु आश्चर्यको बिषय भएको नेता पुनको भनाई थियो ।
मधेसी मोर्चासँग सहमतिका लागि अर्को साता संसदमा संविधान संशोधनको प्रस्ताव दर्ता हुने बताउँदै माओवादी केन्द्र प्रदेश नम्बर पाँचका इन्चार्जसमेत रहनु भएका पुनले तराई मधेसका १०/१२ जिल्लामा जेठ १५ अघि नै दोश्रो चरणको चुनाव सक्ने गरी सहमतिको सम्भावना रहेको बताउनु भयो ।
उहाँले स्थानीय चुनावमा स्थानीय बिशेषता हेरेर कांग्रेस र एमालेसँग तालमेलको सम्भावना रहेको बताउँदै माओवादी एक्लै चुनावमा प्रस्तुत हुने गरी तयारी गरिरहेको बताउनु भयो । उहाँले दक्षिण र उत्तरको सन्तुलन मिलाउन सरकार सफल भएको दावी गर्नुभयो ।