पाथीभरा गोदाममा ९० क्विन्टल सिक्का

ताप्लेजुङ, २४ चैत्र / प्रसिद्ध धार्मिकस्थल पाथीभरामा ९० क्विन्टलभन्दा बढी सिक्का थन्किएको छ । श्रद्धालु भक्तजनले दिनहुँ सिक्का चढाउँदै जाने तर त्यसको उचित व्यवस्थापन नहुँदा समस्या भएको हो ।

बैंकसँग सहकार्य नगर्दा सिक्का गोदाममा राख्नुपर्ने बाध्यता छ । संकलित सिक्का आधा बोरामा राखिए पनि अरू भुइँमै छरिएर रहेको अवस्था छ । पाथीभराका कर्मचारी राजेन्द्र महतका अनुसार यो सिजनमा दैनिक १४ पाथीसम्म सिक्का जम्मा हुन्छ । एक पाथीमा २२ किलो हुन्छ । दैनिक दुई क्विन्टलभन्दा बढी सिक्का जम्मा हुने उनी बताउँछन् । मौसम राम्रो भए रामनवमीदेखि वैशाखभर तीर्थयात्रीको भीड लाग्ने गर्छ । अधिकांशले सिक्का पैसा नै चढाउने गर्छन् । पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समितिका सहसचिव लक्ष्मी काफ्ले बैंकले सहज तरिकाले नलगिदिँदा समस्या भएको बताउँछन् । ‘उहाँहरू सिक्कालाई धोएर ल्याउनु भन्नुहुन्छ । हामीले पाथीभराबाट बोकाएर सदरमुकाम ल्याई धोएर जिम्मा दिँदा खर्च बढी लाग्छ,’ उनले थने, ‘पैसा बैंकबाट निकाल्दाको जस्तो रहिरहँदैन । मैलो लाग्छ, फोहोर हुन्छ, त्यो बैंकले बुझ्नुपर्ने हो ।’ बैंकले भने रिट्ठाको धूलो, सर्फ पानीले धोएर धानको ढुटोले सफा गरे मात्रै लाने प्रस्ताव गरेको छ । बैंकका तत्कालीन पूर्वाञ्चलका व्यवस्थापक दीपकबहादुर थापाले दुई वर्षअघि नेपाल बैंक लिमिटेडले यसरी दिएको सिक्का मात्र लिन सक्ने बताएका थिए । राष्ट्र बैंक नभएको जिल्लाले पनि त्यही नियमलाई पछ्याइरहेका छन् । भगवान्का नाममा भुइँमा चढाइएको पैसामा फोहोर लाग्छ । त्यसलाई सटही गर्ने कर्तव्य बंैंकको हो । तर पनि विभिन्न झमेला लगाएको समितिको दाबी छ । ३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको पाथीभराबाट मोटरबाटो पुगेको भालुगौंडेसम्म पुर्‍याउन प्रतिकिलो १५ रुपैयाँ भाडा लाग्छ । मजदुरले २५ किलोभन्दा बढी बोक्न सक्दैनन् । धेरै भार नथाम्ने भएकाले पक्कीबाहेक घरमा सिक्का राख्न दिइँदैन । बैंकले धोएर सफा बनाएपछि तौलका आधारमा हिसाब गर्ने गरेको छ । एक रुपैयाँको सिक्काको तौल चार र दुई रुपैयाँको पाँच ग्राम हुन्छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *