वल्र्डभिजनद्धारा पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री

उदयपुर । कोरोना भाईरसको महामारीमा अग्रभागमा रहेर काम गर्दै आएका उदयपुरका ४० जना पत्रकारलाई वल्र्डभिजन इन्टरनेशनलले स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको छ । महामारीको उच्च जोखिममा पनि निरन्तर जनतालाई सूचना प्रवाह गरेको भन्दै वल्र्डभिजनले साझेदार संस्था जाल्पा एकिकृत विकास समाजमार्फत क्रियाशिल पत्रकारलाई स्वास्थ्य सुरक्षाकवज उपलब्ध गराएको हो ।

४१ दिनअघि त्रियुगा नगरपालिका ३ भुल्के क्षेत्रमा देशकै सबैभन्दा बढि एकैपटक १२ जनामा कोरोना संक्रमण देखिएपछि उदयपुर इपिसेन्टरकोरुपमा परिणत भएको थियो । संक्रमण ३३ जनामा पुगेपछि रोकिए पनि सञ्चारकर्मीमा जोखिम उत्तिकै रहेकाले स्वास्थ्य सामग्री उपलब्ध गराइएको संस्थाका लेखा तथा प्रशासन अधिकृत दिलिपकुमार चौधरीले बताए ।

चौधरीका अनुसार संस्थाले एन नाईन्टी फाईभ मास्क, सेनिटाईजर र पुनः प्रयोगमा आउने ग्लोब्स उपलब्ध गराएको थियो । स्वास्थ्य सुरक्षा सामग्री बुझ्दै नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्काले प्रतिकुल अवश्थामा ज्यानको जोखिम मोलेर भएपनि जिल्लाका पत्रकारले जनतालाई निरन्तर सूचना प्रवाह गर्दै आएको बताए ।

उनले कोरोना भाईरस नियन्त्रणमा पत्रकारले अग्रणी भूमिका निर्वाह गरेपनि सरकारले पत्रकारलाई सम्मान गर्न नसक्नु दुखदायी भएको बताए । उनले संकटको बेलामा पत्रकारले आफ्नो ज्यानको वाजी लगाएर जनतालाई सूचना प्रवाह गर्दासमेत राज्यले चासो नदिएकोमा चिन्ता व्यक्त गरे ।

‘यो बेला खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी सबैलाई राज्यले प्रोत्साहन भत्ता उपलब्ध गराउने घोषणा गरेको छ, अध्यक्ष खड्काले भने, ‘तर त्यहीँ सूचना जनतासम्म पुर्याउने पत्रकारलाई न सुरक्षा कवज न प्रोत्साहन नै गरेको छ ।

Facebook Comments