कोरोना रोकथाम तथा नियन्त्रण गर्ने अभियानमा स्थानीयको सकृयता

उदयपुर । कोरोना भाइरसको महामारी गाउँमा जतिबेला पनि भित्रन सक्नेभन्दै त्रियुगा नगरपालिका ६ बोजेका स्थानीयले नियन्त्रणका लागि सकृयता देखाएका छन् । विभिन्न पेसा व्यवसायका लागि अन्यत्र गएकाहरु धमाधम गाउँ प्रवेश गर्न थालेपछि स्थानीयले सकृयता बढाएका हुन् ।

महामारीबाट पछुताउनु भन्दा पहिला नै सजकता अपनाउनु उपयुक्त हुने ठहर गर्दै स्थानीयले विभिन्न निकायसँग समन्वय गरी गाउँमै हेल्थडेक्समार्फत सेवा दिन थालेका हुन् । त्रियुगा नगरपालिका र स्थानीय प्रशासनसँग समन्वय गरी स्थानीयले बोजेमा हेल्थडेक्स स्थापना गरी सकृयता बढाएको स्थानीय मधुकर थापाले बताए ।

ज्वरो नाप्ने थर्मगन, पिपिइ सेट, कम्वोड जुत्ता, ग्लोब्स, मास्क, चस्मा जस्ता सामग्री नगरपालिका, महासंघ र के के लाईम इण्डसट्रिज प्रालीले उपलब्ध गराएपछि हेल्थडेक्स तयार पारिएको थापाले बताए । उनले भने, ‘हेल्थडेक्समा ज्वरो नाप्ने र ज्वरो देखापरे उपचारका लागि वाहिर पठाउने र गाउँघरमा कोभिड १९ बारे सचेतनामुलक कार्यक्रम गर्ने गरेका छौ ।

‘नयाँ आउने जो कोहीलाई सिधै प्रशासनलाई बुझाउने र गाउँघरमा हिडिरहने सबैलाई दैनिक ज्वरो नाप्ने काम हुन्छ, उनले भने, ‘नजिकमा उद्योगसमेत रहेकाले बन्दाबन्दीमा बसेका मजदुरको नियमित चेकजाँच हुने गरेको छ । बैशाख ६ गतेदेखि सञ्चालनमा ल्याइएको हेल्थडेक्समा हालसम्म दुई हजार जनाले सेवा लिएका छन् ।

‘सुरु–सुरुमा केहिले अटेरसमेत गरे, थापाले भने, ‘युवा परिचालन गरेर सम्झाउने काम भयो, त्यति गर्दासमेत नभएपछि जवरजस्ति गरेर ल्यायौ । गाउँमा अभियान सञ्चालनपछि अटेर गर्ने र केहि मदिरा सेवन लगायतका कुलतमा फसेका युवालाईसमेत सामाजिक कारवाही गर्न थालेपछि अहिले सचेत हुँदै तिनैबाट सहयोग मिलेको थापाले बताए ।

हेल्थडेक्स स्वास्थ्यका लागि मात्र नभई कुलतमा फसेकालाई सुधार गर्ने थलोपनि भएको उनको भनाई छ । यसका अलावा लकडाउनलाई थप प्रभावकारी बनाउन भिडभाँड हुने थलोलाई बन्द गरिएको उनले बताए ।

Facebook Comments