पुनः ३ जना थपिएपछि उदयपुरमा कोरोना संक्रमितको संख्या २७ पुग्यो

उदयपुर । उदयपुरको भुल्केमा थप ३ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ । त्रियुगा नगरपालिका ३ भुल्के क्षेत्रका २४, ६० र ७२ वर्षका पुरुषमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले पुष्टि गरे । यो सँगै उदयपुरमा संक्रमितको संख्या २७ जना र देशभरमा ४५ जना पुगेको छ ।

भुल्के बस्तिमा लुकेर बसेका १६ जना मध्ये बैशाख ५ र ६ गते १३ जनामा पोजेटिभ र ३ जनामा नेगेटिभ देखिएको थियो । नेगेटिभ देखिएका ३ जनालाई सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप परीक्षणगर्दा बुधबार पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले जानकारी दिए ।

बैशाख ५ गते एकैपटक ठुलो संख्यामा कोरोना पुष्टिपछि प्रदेश जनस्वास्थ्य प्रयोगशाला र नेपाली सेनाको छाउनी अस्पतालबाट आएको स्वास्थ्यकर्मीको छुट्टा–छुट्टै टोलीले तीन दिन लगाएर ३ सय २९ जनाको स्वाब संकलन गर्दा २७ जनामा संक्रमण देखिएको प्रवक्ता देवकोटाले पुष्टि गरे ।

सेनाको टोलीले दुई दिन लगाएर २ सय ६० जनाको नमुना संकलन गरी स्वाब परीक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाएको थियो । त्यसमध्ये ३ जनाको पोजेटिभ र बाँकी २ सय ५६ जनाको परीक्षण रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय प्रमुख मोहन सुवेदीले जानकारी दिए ।

पहिलो चरण बैशाख २ गते स्वास्थ्य कार्यालयले स्वाब संकलन गरी पठाएको १६ जनामध्ये १६ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै प्रदेशको टोलीले ६९ जनाको संकलन गरी कोशी अञ्चल अस्पताल विराटनगरमा परीक्षण र विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पुर्नपरीक्षण गरेको थियो । त्यसमध्ये ८ जनामा पोजेटिभ र बाँकी ६१ जनामा नेगेटिभ आएको उनले बताए । पुष्टि भएका २७ जनालाई नै उपचारकालागि बिराटनगर पठाइएको सुवेदीले जानकारीदिए ।

Facebook Comments