सेनाद्धारा संक्रमित क्षेत्रका २ सय ५१ जनाको स्वाब संकल

उदयपुर । संक्रमित क्षेत्र उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केका दुई सय ५१ जनाको स्वाब संकलन पछि नेपाली सेनाको चिकित्सक सहितको टोली सोमबार दिउँसो हेलिकप्टरबाट काठमाण्डौँ फर्किएको छ । दुई दिन लगाए नेपाली सेनाको छाउनी अस्पतालका मेजर डा. प्राची रायमाझीको नेतृत्वमा आएको ४ जनाको स्वास्थ्यकर्मीको टोलीले ५३ घर मुस्लिम समुदायका परिवार, छिमेकी र वाहिरी भागमा काम गर्दै आएका नेपाली सेनाको १८ नम्बर वाहीनाका सेनाको स्वाब संकलन गरेको हो ।

आइतबार समय अभावले १ सय ५१ जनाको मात्र स्वाब संकलन गरिएकाले बाँकी रहेका ९९ जनाको सोमबार नमुना संकलन गरिएको बाहिनीपति सहायकरथी कृष्णप्रसाद सापकोटाले बताए । १३ जनामा कोरोना पुष्टि भएपछि सेनाले वाहिनीको फिल्डमा क्याम्प नै राखेर स्थानीय र केहि सेनाकोसमेत नमुना संकलन गरेको समेत बाहिनीपति सापकोटाले बताए । सहायकरथी सापकोटाका अनुसार संक्रमित आसपासका क्षेत्रमा सेनाका केहि जवानहरु परिवारसहित बस्ने गरेको र वाहीनीको वाहिरी भागमा सर्पदंश उपचार केन्द्र रहेकाले त्यहाँ खटिने र वाहिर बस्नेहरुको नमुना संकलन गरिएको थियो ।

रोग सर्यो सरेन भन्दा पनि संक्रमण फैलिन नदिन आफ्नो सुनिश्चितताका लागि परीक्षण गरिएको उनको भनाई छ । यता कोरोना पुष्टि लगत्तै स्थानीय प्रशासनले चार दिनदेखि संक्रमित क्षेत्रलाई पूर्णरुपले सिल गरेको छ । स्थानीयको आउजाउ पूर्णरुपले ठप्प पारेर बस्ति सिल गरिएको प्रमुख जिल्ला अधिकारी दिपक पहाडीले बताए । उनले स्वाब संकलनको रिर्पोट नआएसम्म बस्ति सिल गरिने र त्यसपछि पनि अबश्था हेरेर मात्र सहजिकरण गरिने बताए ।

शनिबार मात्रै विराटनगरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.जयवेन्द्र यादवको नेतृत्वमा खटिएको चिकित्सक टोलीले मस्जिद टोलमा रहेका ६० जना सर्वसाधारणसहित ६९ जनाको स्वाब संकलन गरेको थियो । ति स्वाबको विराटनगरस्थित कोशी अस्पतालमा रहेको ल्याबमा परीक्षण जारी रहेको जनाइएको छ ।

Facebook Comments