बजार व्यवस्थित गर्न उदयपुरमा मापदण्ड


उदयपुर ।
व्यक्तिबाट कोरोना भाईरस सर्ने भएपछि जोखिम न्युनिकरणका लागि उदयपुरको सदरमुकाम गाईघाट बजारमा मापदण्ड बनाइएको छ । बजारलाई व्यवस्थित बनाउन त्रियुगा उद्योग बाणिज्य संघ, त्रियुगा नगरपालिका वडानं ११ र स्थानीय प्रशासनको सहयोगमा सामान खरिद विक्री गर्दा सामाजिकदुरी कायम रहने गरी मापदण्ड तय गरिएको हो ।

सरकारले लकडाउनको समयमा अत्यावश्यक सेवा सूचारु गरेसँगै बजार व्यवस्थापन हुन नसक्दा जोखिम बढेको भन्दै सर्वसाधरणले चौतर्फी आलोचना हुन थालेपछि प्रशासनको सहयोगमा नागरिक समाजका अगुवाहरुले वजार मापदण्ड तय गरेका हुन् । नागिरक समाजको निर्णय सँगै स्थानीय प्रशासनले पनि तरकारी वजारलाई थप व्यवस्थित बनाउने निर्णय गरेको छ ।

जिल्ला सुरक्षा समिति तथा प्रजिअको नेतृत्वमा रहेको विपद् ब्यावस्थापन कमाण्ड गु्रपको टोलीले तरकारी वजारको अनुगमन पछि व्यवस्थित गर्ने निर्णय गरेको हो । प्रायः साँझको समयमा तरकारी वजार भिडभाड हुने भएकाले त्यसलाई मध्यनजर गरी दुरी कायम गरेर तरकारी किन्ने, भिडभाड कम गर्ने, आफुलाई चाहिने भन्दा अनावश्यक तरकारी नछुने जस्ता निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी भिमप्रसाद भट्टराईले जानकारी दिए । प्रशासनले नियम पालना गरी संक्रमणबाट बच्न र सरकारले लगाएको लकडाउनलाई सफल पार्न सर्वसाधारणलाई अनुरोधसमेत गरेको छ ।

Facebook Comments