उदयपुर । उदयपुरको बेलका र सुनसरीको चतरामा पर्ने सप्तकोशी नदीमा सञ्चालन हुँदै आएका जेटबोट बिहीबारदेखि अनिश्चितकालका लागि बन्द भएका छन् । बराहक्षेत्रका केही उछृंखल स्थानीय युवाहरुले कमिसन माग्ने, नदिए बीचैमा बाँधेर रोकिदिने, डर, त्रास र धम्कीका कारण असुरक्षा भएको भन्दै अनिश्चितकालका लागि बन्द गरिएको हो ।
कोशीमा जेटबोट चल्न बन्द भएपछि आन्तरिक र वाहृय पर्यटकहरुले जलयात्र नगरी फर्कन थालेको नेपाल जल यातायात तथा पर्यटन सेवा प्रालिका अध्यक्ष विमलमान श्रेष्ठले बताए । उनका अनुसार अहिले भोजपुर र धनकुटाबाट सुनसरी उदयपुर आउने जाने स्थानीय यात्रुहरु पनि अक्करे भिरको बाटो घन्टौं लगाएर पैदल यात्रा गर्न बाध्य भएका छन् ।
नेपाल जल यातायात व्यावसायी महासंघका केन्द्रीय अध्यक्षसमेत रहेका श्रेष्ठले करोडौं रुपैयाँ लगानी गरेर कोशीमा विभिन्न कम्पनीले जेटबोट सञ्चालन गर्दै आएका छन् । तर जल यातायातका लागि सरकारले यात्रु र सञ्चालक कम्पनीको सुरक्षा निति नबनाउँदा स्थानीयबाटै पिडित हुन परेकाले जेटबोट, यात्रु र आफुहरुको सुरक्षाको ग्यारेन्टी नभएसम्म बन्द गर्ने बताए ।
मोवाईलमा समाचार हेर्न तल Like गर्न नभुलौः
नेपाल रिभर ट्रान्सपोर्ट प्रालिका अध्यक्ष अनिष थापाले जल यातायात सम्बन्धी सरकारले बोलेजस्तै स्पस्ट नीति ऐन वा निर्देशिका बनाएर लागु गरेको भए जेटबोट सञ्चालक कुनै पनि कम्पनी सोही नीति अनुसार चल्ने र स्थानीय केही उछृंखल युवाहरुले अवरोध गर्न नसक्ने बताए । उनले गतसाता बंगलादेशबाट आएका १४ जना पर्यटक बोकेको जेटबोटलाई उछृङ्खल युवाहरुले त्रिवेणीमा ६ घन्टा रोकेर अनावश्यक तनाव दिएको बताए ।
ती उछङ्खल युवाहरुले दादागिरी देखाउँदै जेटबोट सञ्चालक कम्पनीबाट कमिसन पाउनुपर्ने, बुकिङ काउन्टर खोल्न दिनुपर्ने, रोजगारी पाउनुपर्ने र स्थानीय बासिन्दाले नियमित रुपमा निशुल्क जलयात्र गर्न पाउनुपर्ने जस्ता माग राखेर विदेशी पर्यटक बोकेको जेटबोट बीचैमा रोकेको थापाले बताए ।
अहिले कोशीमा ३० सिटको एउटा जेटबोट सञ्चालन हुदै आएको सप्तकोशी टुरिजम एन्ड वाटर ट्रान्सपोर्टेसन प्रालिका अध्यक्ष राजेन्द्र कार्कीले जेटबोट सञ्चालनमा स्थानीय अराजक युवाहरुको अवरोध नहटेसम्म कोशीमा जलयात्रा असुरक्षित देखिएकाले बन्द गर्न बाध्य भएको बताए ।
उनले राज्यले जेटबोट सम्बन्धी आवश्यक कानुन बनाएर सुरक्षा उपलब्ध नगराएसम्म अनिश्चितकालको लागि बन्द गरिएको बताए । कोशीमा १५ जनादेखि ६० जनासम्म अट्ने दुई किसिमका जेटबोट सञ्चालन हुदै आएको छ । जसमा तराई र पहाडको दूरीलाई जलमार्गले घटाएर स्थानीय यात्रुलाई सुविधा दिईरहेका छ भने जल यात्रा गर्न मनपराउने पर्यटकलाई मनोरन्जन दिईदै आएको छ ।
कोशीमा बराहक्षेत्र मरिन एन्ड रिसोर्ट, सप्तकोसी टुरिजम एन्ड वाटर ट्रान्सपोर्टेसन, नेपाल रिभर ट्रान्सपोर्ट प्रालि, बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालि गरी चार जल यातायात कम्पनीले तीनवटा लामो दुरीका र चारवटा छोटो दूरीका जेटबोट सञ्चालन गर्दै आएका छन् ।