उदयपुर । ६४ औ प्रहरी दिबसको अवसरमा जिल्ला प्रहरी कार्यालय उदयपुरले विभिन्न क्षेत्रका २६ जना व्यक्तित्वलाई सम्मान गरेको छ । दिवसको अवसरमा प्रहरी परिषरमा आयोजित अमर प्रहरी सम्झना र प्रहरी पुर्नमिलन कार्यक्रममा विभिन्न बिद्यामा सेवा गर्दै आएका प्रहरी निरीक्षकसहित ११ जना प्रहरी, १४ जना अमर प्रहरी परिवार र १ जना पुर्वप्रहरीलाई सम्मान गरिएको हो ।
सम्मानित सबैलाई प्रमुख जिल्ला अधिकारी धुर्वबहादुर खड्का र प्रहरी उपरीक्षक बिरबहादुर बुढामगरले प्रंशसा पत्र र दोसल्ला अेढाई सम्मान गरेका थिए । लागुऔषध कारोवारी, रेडकर्नर नोटिस जारी भएका र करणी गरी फरार रहेका कसुरदारहरुलाई पक्राउ गरेवापत प्रहरी निरीक्षक ज्ञानबहादुर माझी, चोरी निकासी नियन्त्रणमा भुमिका खेलेवापत प्रहरी नायव निरीक्षक इन्द्रदेव यादव सम्मानित भएका छन् ।
त्यसैगरी सामुदायिक प्रहरी अभियानलाई प्रभावकारी बनाउने प्रहरी सहायक निरीक्षक गंगाराम राई, महिला तथा बालबालिकालाई न्याय दिलाउन सघाउ पुर्याएवापत सहायक प्रहरी निरीक्षक उमा गुरुङ, ट्राफिक व्यवस्थापन तथा बिद्यालय स्तरमा जनचेतनामुलक कार्यक्रम सञ्चालनमा उत्कृष्ट भुमिका निर्वाह गर्ने ट्राफिक प्रहरी हवल्दार भोजबहादुर थापालाई पनि सम्मान गरिएको छ ।
प्रहरीले अनुशासित तथा संगठन प्रति वफादार हवल्दार महादेव राई, विपद् व्यवस्थापनामा भुमिका गरेवापत प्रमोदकुमार यादव, प्रदेश प्रहरीले मासिकरुपमा अवार्ड दिने साउन महिनाका उत्कृष्ट प्रहरी जवान अनिल कार्की र मिलन बिष्ट साथै उदयपुरका भदौ महिनाका उत्कृष्ट प्रहरी लालबहादुर बिकलाई सम्मान गरेको छ ।
कार्यक्रममा सशस्त्र द्धन्द्धकाक्रममा ज्यान गुमाउने उदयपुरका १४ जना अमर प्रहरी परिवारका आफन्तजन र पुर्वप्रहरीको तर्फबाट संगठनलाई सहयोग गर्दै आएका पुर्वप्रहरी संगठन उदयपुरका अध्यक्ष डोरनाथ ढकाललाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
कार्यक्रममा बोल्दै प्रजिअ खड्काले नेपाल प्रहरीको निष्पक्षता र विश्वसनियता रहेकैकारण देशविदेशमा माग बढिरहेको बताए ।
उनले नेपाल प्रहरी अनुसन्धान र अपराध नियन्त्रणमा दक्षिण एसियाकै उत्कृष्ट रहेको स्मरण गराउँदै त्यसलाई कायमै राख्न अझ बढि मेहनत गर्न जरुरत रहेको बताए । प्रजिअ खड्काले समाजिक मुल्यमान्यता र संबिधानलाई अगिंकार गर्दै परिवर्तित समयमा आफुलाई परिमार्जन गर्दै लैजानु संगठनको दायित्व रहेको बताए । २०१२ साल असोज ३० गते मा तत्कालिन राजाबाट प्रहरी ऐनमा लालमोहर लगाएपछि यो दिवस मनाउन सुरु गरिएको हो ।
निजामती सेवाभन्दा प्रहरी संगठन १ बर्ष जेठो संगठन हो । सोहीअवसरमा प्रहरी उपरीक्षक बिरबहादुर बुढामगरले नागरिक मैत्री प्रहरी बनाउनका लागि प्रयास जारी रहेको बताए । उनले अपराध नियन्त्रण प्रहरीबाट मात्रै सम्भव नरहेकाले सबैको साथसहयोग आबश्यक रहेको औल्याए । उनले अपराध नियन्त्रणका लागि नविनतम प्रयास गर्दै जनताको संबिधान र त्यसबाट प्रद्र्धतअधिकार स्थापित गर्न र मानवअधिकारको सम्मान गर्न संगठन सदैव कृयाशिल रहने जानकारी दिए ।
एसपी बुढामगरको अध्यक्षता, प्रहरी निरीक्षक ज्ञानबहादुर माझीको सञ्चालन र डिएसपी हरिकृष्ण केसीको स्वागतमन्तव्यमा भएको कार्यक्रममा पुर्वप्रहरी संगठनका अध्यक्ष डोरनाथ ढकाल, गैसस महासंघका केन्द्रिय सदस्य महेश्वरी राईले बोलेका थिए ।
भिडियोः–