उदयपुर, ८ चैत्र । व्यावसायिक माछापालन गर्ने कृषक बढेपछि जिल्लामा माछा उत्पादनमा वृद्धि भएको छ। ५ वर्ष अघिसम्म जिल्लामा व्यावसायिक माछापालन गर्ने कृषक १५ जनामात्र थिए। अहिले जिल्लामा ७० जनाले व्यावसायिक माछापालन गरिरहेको कृषि विकास कार्यालयले जनाएको छ। कार्यालयका अनुसार जिल्लामा वार्षिक ८० क्विन्टलसम्म माछा उत्पादन हुन थालेको छ। २० क्विन्टल उत्पादकहरूले नै उपभोग गर्ने गरेका छन् भने ६० क्विन्टल बिक्री हुने गरेको कार्यालयका मत्स्य अधिकृत सतन यादवले जानकारी दिए। ‘जिल्लाको कटारी, गाईघाट, रामपुर लगायतका बजारमा सिरहा र सप्तरीका माछाले बजार लिएको थियो’, यादवले भने, ‘जिल्लामै उत्पादन हुन थालेपछि यहीँको माछाले बजार पाउन थालेको छ।’ यादवका अनुसार उत्पादन बढेसँगै वार्षिक दुई करोड रुपैयाँभन्दा बढीको माछा बिक्री हुन थालेको छ। जिल्लामा कुुल माछाको माग मध्य ४० प्रतिशत माग अहिले स्थानीय उत्पादित माछाले पूर्ति गर्ने गरेको उनलले बताए। सदरमुकाम गाईघाट, बेल्टार र कटारी क्षेत्रमा अहिले धेरै कृषकले व्यवसायिक रूपमा माछापालन सुरु गरेका छन्। माछा पालक कृषकहरुले सात प्रजातिका माछापालन गर्दै आएका छन्। यहाँ रहु, नैनी, माकुर, बिगहेड, सितमर, कमन, ग्राँसकप, माया प्रजातिका माछा उत्पादन हुन्छन्। जिल्लामा माछाको भुरा सप्तरीको मत्स्यविकास केन्द्र फत्तेपुर र सिरहाको लाहानस्थित मत्स्य नर्सरीबाट ल्याउने गरिएको कार्यालयले जनाएको छ। ‘क्याट’ प्रजातिको माछामा कृषकको आर्कषण बढ्दो छ। यो मांसाहारी भएका कारण चाँडै फस्टाउने र धेरै फाइदा हुने त्रियुगा नगरपालिका–८ बगाहाका कृषक निर्मल चौधरीले बताए। बजारमा यसको माग पनि राम्रो छ। ‘एक बिघा जग्गामा तीन वटा पोखरी तीन प्रजातिको माछा पालेका बगाहाका कृषक रुपेश राईले भने, ‘पर्याप्त आम्दामी लिन क्याट फिसनै पाल्नुपर्ने रहेछ।’
माछा उत्पादनमा वृद्धि भएसंगै उदयपुरमा वार्षिक २ करोड भन्दा बढी कारोबार
Facebook Comments