उदयपुर । जिल्ला अदालत उदयपुरले पहिलो पटक वैवाहिक बलात्कार गरेको कसुरमा ३ बर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला न्यायाधिश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले आईतबार ३८ बर्षीया श्रीमतीलाई इच्छाविपरित ४५ वर्षीय श्रीमानले करणी गरेको कसुर ठहर गर्दै यस्तो फैसला सुनाएको हो । अदालतले ७ बर्षीया छोरीलाई यौन दुव्र्यवहार गरेको कसुरमा भने सफाई दिएको छ ।
श्रीमतीको इच्छा, सहमति वेगर श्रीमानले करणी गरेको प्रमाण जुटेपछि उनलाई दण्डित गरिएको अदालतका स्रेस्तेदार राजकुमार आचार्यले जानकारी दिए । मुलुकी ऐन जवरजस्तिकरणीको महल ३ (६), मुलुकी अपराध ऐन २०७४ को दफा २१९ को उपदफा (४) मा व्यवस्था भएवमोजिम ३ बर्ष कैद सुनाइएको उनले बताए । ऐनमा यस्तो प्रकृतिको मुद्दामा ५ बर्षसम्म कैद गर्ने व्यवस्था गरेको छ ।
त्यसैगरी आफ्नै सानो नानीलाई बोक्दा छुदैँमा यौन दुव्र्यवहार गरेको ठहर गर्न नसकिने रायका साथ अदालतले सफाईको फैसला सुनाएको हो ।
शारिरीक अबश्था कमजोर रहँदासमेत ०७५ साउन २१ गते कसुरदारले इच्छाविपरित वलजफ्ती पटक–पटक करणी गरेको र ७ बर्षीया छोरीलाईसमेत साउन २१ गते यौनदुव्र्यवहार गरेको भन्दै श्रीमतीले भदौ ४ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् ।
पीडितले निवेदन दिएको भोलीपल्ट भदौ ५ गते पक्राउ परेका कसुरदारलाई अदालतले भदौ ३१ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।
निवेदनसँगै कानुनी प्रकृयाका लागि प्रहरीले प्रमाण जुटाउन आमा र छोरी दुबैलाई भदौ ५ गते जिल्ला अस्पतलामा स्वास्थ्य जाँच गराएको थियो । नयाँ संबिधानले वैवाहिक बलात्कार भएमा ५ बर्षसम्म जेल सजाय हुने व्यवस्था गरेपछि अदालतले पहिलोपटक यस्तो फैसला सुनाएको हो । अदालतमा वैवाहिक बलात्कार सम्बन्धी हालसम्म दुई वटा मुद्दा दर्ता भई प्रकृयामा रहेकाछन् ।
भिडियोः–