गजेन्द्र राई
उदयपुर । निर्माणाधिन वैकल्पिक लोकमार्गमा प्रयोग गर्न उदयपुरमा उत्पादित ढुंगा गिटी बालुवा अवैधरुपमा जिल्लाबाहिर निकासी हुने गरेको तथ्य बाहिरिएको छ । धरान–चतारा–गाईघाट–कटारी–सिन्धुली–हेटौडा खण्डको वैकल्पिक लोकमार्ग बन्न सुरु गरेसँगै १ वर्षयता जिल्लाको त्रियुगा नगरपालिका ७ चुहाडेमा क्रसर उद्योगबाट सो सामाग्रीहरु अवैधरुपमा जिल्लाबाहिर निकासी हुने गरेको तथ्य बाहिरिएको हो । आईतबार दिउँसो जिल्लाको त्रियुगा नगरपालिका स्थित इलाका प्रहरी कार्यालय जलजलेले सप्तरी सिराहातर्फ जाँदै गरेको गिटी बोकेका दर्जन टिफरहरु एकैचोटी नियन्त्रणमा लिएपछि सो तथ्य बाहिरिएको हो ।
निर्माण कम्पनी जेडर्आइईसी÷शर्मा÷लामा जेभीले आयोजनाको पूर्वी खण्डलाई आवश्यक पर्ने सामग्री उत्पादन गर्नेगरी ‘निर्माण सामग्री प्रशोधन प्लान्ट’ स्थापना गरेर वरिपरिका त्रियुगा र काली खोला बगरका ढुंगा गिटी उत्खनन र संकलन गर्दै गिटी बालुवा प्रशोधन गर्दै आएको छ । त्यही क्रसर उद्योगबाट लोड गरी लाँदै गरेको अवस्थामा ११ वटा टिफर इप्रका जलजलेको ढाटबाट प्रहरीले नियन्त्रणमा लिएको हो । भित्र गिटी हालेर बाहिरबाट पहेँलो त्रिपालले छोपिएका टिफरहरु चेकजाँचको क्रममा पक्राउ परेका हुन् । ती सबै टिफरमा चुहाडेमा उत्पादित सामग्री अवैध रुपमा लोड गरी जिल्लाबाहिर निकासी भईरहेको पाइएकाले नियन्त्रणमा लिइएको इप्रका जलजलेलाई उद्धृत गर्दै जिल्ला प्रहरी निरीक्षक मानबहादुर श्रेष्ठले बताए ।
इप्रका प्रमुख सई दिलिप दासलाई उद्धृत गर्दै इन्सपेक्टर श्रेष्ठले बताए अनुसार साहुले ल्याउनु भन्ने आदेश अनुसार गिटी सप्तरीतर्फ हिडाएको प्रारम्भिक बयान चालकहरुले दिएका छन् । केही समययता त्यहाँ उत्पादित ढुंगा गिटी बालुवा बाहिरका जिल्ला हुँदै भारतसम्म चोरी निकासी हुने गरेको गुनासो आईरहेकाले प्रहरीले यसबारे निगरानी बढाएको जनाएको छ । जलजले ढाटमा बसेको प्रहरी टोलीले त्रिपालले छोपिएका टिफरमा चेकजाँच गर्दा गिटी बोकेर सप्तरीतर्फ हिडेको जवाफ आएको तर, जिल्लाबाहिर लाने इजाजतपत्र नभेटेएपछि नियन्त्रणमा लिनुपरेको श्रेष्ठले बताए ।
इन्सपेक्टर श्रेष्ठका अनुसार दिउँसो आईतवार बिहान नौं बजे नियन्त्रणमा लिइएका सबै टिफरहरु अहिले इप्रका जलजले परिसरमै राखेर जिल्ला समन्वय मितिलाई जिम्मा दिने प्रक्रिया अघि बढाइएको छ । प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीले टिफर पक्राउ परेको पुष्टि गर्दै निकासी इजाजत लिए नलिएको विषयमा जानकारी प्राप्त नभईसकेको बताए । निकासी इजाजत दिने निकाय जिल्ला समन्वय समिति भएकाले कानुन बमोजिम नगरेको भए कारबाही गर्ने निकाय पनि त्यही भएको उनले बताए । पक्राउ सबै टिफरहरु जिल्ला समन्वय समितिमै बुझाउन प्रहरीलाई निर्देशन दिएको पनि सिडिओ कार्कीले बताएका छन् ।
जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियारले टिफरहरु प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको बताए । उनले सो क्रसर वैकल्पिक लोकमार्गका लागि आवश्यक सामग्री उत्पादनका लागि सञ्चालनमा ल्याइएको भन्दै अन्यत्र बेचविखन गर्न जिल्लाबाहिर निकासी आदेश नदिइएको बताए । पक्राउ टिफरहरुमाथि कस्तो कारबाही गर्ने भन्ने विषयमा कानुनी प्रावधान हेरेर निश्कर्ष निकाल्ने उनले बताएका छन् ।
भिडियोः–