उदयपुर । एक वडाध्यक्षको कार्यकक्षमा स्थानीयहरुले लगाएको ताला उदयपुरमा एकघण्टापछि प्रशासनले तोडेको छ । शुक्रबार विहान जिल्लाको चौदण्डीगढी नगरपालिका ९ वडा कार्यालयमा लगाईएको ताला प्रशासनले तोडेको हो । स्थानीय विद्यालयका शिक्षक उपभोक्ता समितिमा बसेर सञ्चालन गरेको योजना भन्दै वडाध्यक्ष प्रकाश राउतले सम्पन्न सिफारिस नदिएपछि स्थानीयहरुले वडा कार्यालयमा ताला लगाएका थिए । ताला लगाएपस्चात वडाध्यक्ष राउत बन्दि जस्तो कार्यकक्षमै थुनिएका थिए ।
साविक हडिया ५ स्थित साजबोटेमा सडक ग्रावेलको काम सम्पन्न भईसके पनि वडाले सिफारिस नदिएको भन्दै उपभोक्ता समितिका अध्यक्ष प्रेमकुमार खड्काले गाउँले उठाएर वडा कार्यालयमा ताला लगाएका थिए । वडाध्यक्ष राउतले आफु कार्यालयमै बसेका बेला खड्कासहित आएको एक समूहले कार्यालयमा ताला लगाएको बताए । ताला लगाएलगत्तै प्रमुख जिल्ला अधिकारीलाई खवर गरेपछि प्रहरीले तोडेको उनले बताए । उनले वडाभित्रको योजना भए पनि आफुलाई थाहै नदिइ निर्माण गरेको र काम गुणस्तरीय नगरेको गुनासो स्थानीयले फोनमार्फत गरेपछि अनुगमन गरेर मात्र सिफारिस दिने भन्दा खड्काले ताला लगाईदिएको बताए ।
राउतका अनुसार उपभोक्ता समितिका अध्यक्ष खड्का चौदण्डीगढी नगरपालिकाकै सगरमाथा निमावि भुल्केका स्थायी शिक्षक हुन् ।
शिक्षक भएर उपभोक्ता समितिमा बस्न नपाउने नियम मिचेकाले उनले गरेको कामको सिफारिस गर्न नमिल्ने अडान लिँदा तालाबन्दी गरिएको अध्यक्ष राउतले बताए । ‘विहान ११ः०० बजे वडा कार्यालय आएका थिए, मैले शिक्षकले उपभोक्ता समिति अध्यक्ष भएर काम गर्न पाईदैन भनेँ’ राउतले भने ‘स्कुल पढाउने बेला समितिको काम गरेपछि बालबालिकको भविष्य के हुन्छ भन्नेबित्तिकै उनी जंगिएर स्थानीयलाई ताला लगाउन उक्साए ।’
घट्नालगत्तै सदरमुकाम गाईघाट आएका राउतले खड्काविरुद्ध अदालतमा जाहेरी दिने तयारी गरेको बताएका छन् ।
वडाध्यक्ष राउत यसअघि नगरपालिकामा भईरहेको एक बैठकमा बोतलहानाहान बिवादमा मुछिएका थिए । यस बिषयमा प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीले राउतको जाहेरी अनुसार शिक्षकमाथि कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिइएको बताए । प्रजिअ कार्कीले बहालवाला शिक्षकले उपभोक्ता समितिमा बसेर काम गर्न नमिल्ने कानुनी व्यवस्था भएको पनि बताएका छन् ।