ओली–प्रचण्ड भेटका यस्ता थिए तीन एजेण्डा, तर अझै बनेन सहमति

काठमाडौं – एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’बीच झण्डै दुईसातापछि प्रत्यक्ष भेटबार्ता भयो ।

आज ओली निवासमा न्यायो घाम ताप्दै दुई नेतावीच एक घण्टासम्म ‘वान टू वान’ संवाद त भयो । एमाले र माओवादीवीच पार्टी एकता, शक्तिको बाँडफाँड तथा राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी अध्यादेशवारे देखिएको फरक धारणामा एकरुपता भने देखिएन ।

यसअघि चुनाव लगत्तै पार्टी एकता गर्ने घोषाणा गरेका एमाले र माओवादीले दुई अध्यक्षबीच भेटबार्ता हुनै लामो समय लागेपछि केही आशंका पनि उब्जिएका थिए ।
भेटले यस्ता आशंकाहरु त हटाएन मद्धत गरेको छ । ओली र प्रचण्डको सचिवालयले बताए अनुसार उनीहरुवीच सकरात्मक छलफल त भएको छ तर, ठोस सहमति चाहिँ बनेको छैन ।
एमाले–माओवादी एकता, सरकार निर्माण लगायतका विषयमा विभिन्न सञ्चारमाध्यम र नेताहरुले आ–आफ्नै ढंगले विश्लेषण गरेका थिए । यस्तोमा ओली र प्रचण्डवीचको भेट चाहिँ अर्थपूर्ण छ ।

पछिल्लो पटक ओली र प्रचण्डबीच मंसिर २९ गते बबरमहलस्थित एक घरमा भेटबार्ता भएको थियो । यद्यपी उक्त भेटबार्तालाई पनि नेताहरुले गोप्य नै राखेका थिए । त्यसबखत प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भैनसकेपनि मतपरिणामको ‘मोटामोटी’ खाका बाहिरिसकेको थियो ।

यहि बिचमा ओली र प्रचण्डबीच टेलिफोन बार्ता भने निरन्तर हुँदै आएको प्रचण्डले नै बताइसकेका थिए ।

खासगरी दुई शीर्ष नेताबीचको बार्तामा पार्टी एकता,नयाँ सरकार निर्माण र राष्ट्रिय सभा सदस्य निर्वाचनका बारेमा ठोस धारणा तय गर्नुपर्ने बाध्यता छ । शीर्ष नेताबीचको छलफल पार्टी एकता संयोजन समितिको बैठक कहिले बस्ने भन्नेमा पनि चलेको थियो ।

छलफलका हुने एजेण्डा

१. शाक्तिको बाँडफाड – असोज १७ गते एमाले–माओवादीबीच ६०÷४० को सिद्धान्तका आधारमा निर्वाचन लड्ने र निर्वाचन लगत्तै पार्टी एकता गर्ने सहमति भएको थियो । मंसिर १० र २१ मा भएको निर्वाचनमा यी दुई दललले दुई तिहाइकै छेउछाउ विजयी हासिल समेत गरे । तर, पार्टी एकता गर्दा शक्तिको बाँडफाड कसरी गर्ने भन्ने पहिला नै सहमति नभएकाले यो चुनौती पनि थपियो ।

खासगरी एकीकृत पार्टीको अध्यक्ष, प्रधानमन्त्री र राष्ट्रपति पदको कसरी व्यवस्थापन गर्ने भन्नेमा नेताहरुबीच ‘एकरुपता’ हुन सकेन । योसँगै मन्त्री र एकीकृत पार्टीमा दोस्रो तहका नेताहरुको पोर्टफोलियो ब्यवस्थापनको विषय पनि थप चुनौतिका बन्न पुग्यो ।

त्यहि बेला दुवै पार्टीका दोस्रो तहका नेताहरुले पार्टी एकीकरण, सरकार गठन र त्यसको नेतृत्वबारे सार्वजनिक गरेका अभिव्यक्तिका कारण पनि उनीहरुबीचको सहकार्यप्रति अरु धेरै आशंका उव्जिन थाले । दुई अध्यक्षबीच पहिलो प्राथमिकता शक्ति बाँडफाँटको विषय थियो ।

२.पार्टी एकता संयोजन समितिको बैठक बस्ने मिति तय – यसअघि गत साता नै पार्टी एकता संयोजन समितिको बैठक बस्ने दुवै दलका दोस्रो तहका नेताहरुले बताएका थिए । तर, पार्टी एकता संयोजन समितिको बैठक बस्ने चर्चा भइरहेकै बेला माओवादी अध्यक्ष प्रचण्ड चितवनतर्फ लागे । ५ दिनको चितवन बसाइका क्रममा ओलीसँग टेलिफोन बार्ता भइरहेको प्रचण्ड आफैले पनि बताएका थिए ।

यसअघि पार्टी एकताका लागि दुवै पार्टीका अध्यक्ष संयोजक रहेको पार्टी एकता संयोजन समिति गठन भएको थियो । सो समितिमा एमालेका अध्यक्षसहित चार र माओवादीका अध्यक्षसहित तीन जना नेता छन् । तर, संयोजकहरुले नै बैठकका लागि त्यति धेरै तत्परता नदेखाएपछि समितिमा रहेका सदस्यहरु समेत अन्यौलमा परेका थिए ।

जवकी समितिको बैठक कहिले बस्ने र बैठकका एजेण्डा केके हुने भन्नेमा उनिहरु आफै अन्योलमा परेका थिए । दुवै अध्यक्षले एजेण्डा तय गरेपछि मात्रै समितिको बैठक बस्ने भनिएकाले त्यो गृहकार्य गर्न समेत अन्य सदस्यहरुले सकेका थिएनन । गत कार्तिक १५ गतेपछि पार्टी एकता संयोजन समितिको अर्को बैठक बस्न सकेको छैन । दुई अध्यक्षको भेटबार्ता पार्टी एकता संयोजन समितिको वैठकमा पनि केन्द्रित थियो ।

एमाले र माओवादीवीच चुनावलगत्तै पार्टी एकता संयोजन समितिको वैठक बसेर एकता प्रक्रिया अगाडि बढाउने सहमति बनेको थियो । तर, शक्ति बाँडफाँडको विषय केही सूत्र नभेटिएपछि यो समितिको वैठक बस्न सकेको छैन ।

तर, दुई अध्यक्ष बीच राजनीतिक वातावरण सहज बनाएर पार्टी एकतालाई अघि बढाउने समझदारी भएको छ । १–२ दिनमै संयोजन समितिको बैठक बोलाएर पार्टी एकताको प्रक्रिया अघि बढाउने प्रचण्ड र ओलीबीच समझदारी भएको छ।

३.अध्यादेशमा सहमतिको विन्दु पहिचान–गठबन्धनमै रहेका एमाले माओवादीबीच राष्ट्रिय सभा निर्वाचन गर्दा कुन प्रणाली अपनाउने भन्नेमा  ठुलो मतभिन्नता नभएपनि एकरुपता देखिदैन । कांग्रेसले एकल संक्रमणीय प्रणालीबाटै राष्ट्रिय सभा निर्वाचन हुनुपर्ने अडान राखिरहेका बेला एमालेले बहुमतीय प्रणाली हुनुपर्ने बताउँदै आएको छ ।

त्यसैकारण राष्ट्रपतिकोमा पुगेको राष्ट्रिय सभासम्बन्धी अध्यादेश त्यसै रोकिएको छ । तर, यसमा माओवादीले मध्यमार्गि बाटो अपनाउनुपर्ने धारणा राख्दै आएको छ । माओवादीले राजनीतिक सहमति जुटाएर यो विषय हल गर्नुपर्ने प्रसव राखेको छ ।

यस्तोमा राष्ट्रिय सभा निर्वाचन सम्बन्धी अध्यादेशमा एकरुपता ल्याउने दुई अध्यक्षवीच छलफलको विषय बन्यो ।

जनताले नयाँ जनादेश दिएको परिस्थितिमा वर्तमान सरकारले नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्नुपर्ने विषयमा दुई अध्यक्षबीच बीच कुराकानी भएको छ ।

भेटवारे ओलीका प्रेस संयोजक चेतन अधिकारी
दुवै नेताले सरकार गठनका लागि प्रधानमन्त्रीले मार्ग प्रशष्त गर्नुपर्नेमा जोड दिनु भएको छ । दुवै नेताहरुबीच थप छलफल गरी पार्टी एकता संयोजन समितिको बैठक बोलाउने सहमति पनि भएको छ । भोलीसम्ममा पार्टी एकता संयोजन समितिको बैठक बोलाउने विषयमा पनि नेताहरुबीच छलफल भएको छ । उहाँहरुले राष्ट्रिय सभाको निर्वाचनसम्बन्धि अध्यादेशमा देखिएको समस्या समाधान गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भएको छ ।

भेटवारे प्रचण्डका प्रेस संयोजक मनहरी तिमिल्सना
पार्टी एकता, सरकार गठन, राष्ट्रिय सभा अध्यादेश लगायतका विषयमा कुराकानी भएको थियो । निकै सौहार्द वातावरणमा छलफल भयो । जनताले नयाँ जनादेश दिएको परिस्थितिमा वर्तमान सरकारले नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्नुपर्ने विषयमा उहाँहरु बीच कुराकानी भयो । निर्वाचन आयोगले पनि नयाँ सरकार गठनका विषयमा वातावरण सहज बनाउनुपर्ने बारे पनि नेताहरु बीच कुराकानी भएको छ । दुई अध्यक्ष बीच राजनीतिक वातावरण सहज बनाएर पार्टी एकतालाई अघि बढाउने समझदारी भएको छ । १–२ दिनमै संयोजन समितिको बैठक बोलाएर पार्टी एकताको प्रक्रिया अघि बढाउने पनि प्रचण्ड र ओलीबीच समझदारी भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *