भाइरलका बिरामी बढेसंगै उदयपुरको अस्पतालहरु भरिभराउ

उदयपुर– उदयपुरमा भाइरलका बिरामीको संख्या बढ्दै गएपछि जिल्लाका अस्पतालहरु भरिभराउ भएको छ ।
केहि समययता भाईरलको बिरामी बढेसंगै जिल्लाका सरकारी र निजी अस्पतालहरु भरिभराउ भएको हो । अहिले जिल्ला सुगम तथा दुर्गम क्षेत्रका स्वास्थ्य संस्थाहरुमा भाइरलको बिरामीको भीड लाग्ने गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका सूचना अधिकारी दुनियालाल यादवका अनुसार जिल्लाव्यापी रुपमा भाइरलका बिरामी बढेका छन्। ‘उदयपुरको चारैतिर भाइरालको समस्या देखा पर्न थालेको छ,’ उनले भने, ‘जनस्वास्थ्य कार्यालय नजिकैको जिल्ला अस्पतालसमेत भइरलका बिरामीले भरिभराउ छ ।’ जिल्ला अस्पतालमा दैनिक ८० देखि सयजनासम्म भाइरालका बिरामी आउने गरेका छन् । ‘५० शैयाको जिल्ला अस्पतालमा भाइरलका बिरामीको चाप ह्वात्तै बढेको छ,’ अस्पताल मेडिकल शाखाका प्रमुख डा. विशाल देवले भने, ‘बेडमा बिरामी राख्ने ठाउँ नभएर भुइँमासमेत राखेर उपचार गर्न बाध्य छौँ ।’ दैनिक बिरामीको संख्या बढ्दै जान थालेको छ । आकस्मिक कक्षदेखि जनरल बेडसम्म भाइरलका बिरामीले भरिभराउ भएपछि गाईघाट बजार आसपासमा रहेका निजी स्वास्थ्य संस्थामा समेत बिरामी जान बाध्य भएका छन् । जिल्लाको कटारी, बेलटार, गाईघाट तथा भित्री मधेसका क्षेत्रमा पर्ने बस्तीमा भाइरलका बिरामी बढेको जनस्वास्थ्य कार्यालय उदयपुरको दाबी छ ।
भाइरलका कारण अधिकांश बिरामीमा रुघाखोकी लाग्ने, घाँटी दुख्ने, टाउको दुख्ने र एक्कासि ज्वरो आउने लक्षण देखिने गरेको छ । वर्षात्को मौसम भएकाले प्रदूषित पानी पिउनु, मौसम परिवर्तनले गर्दा भाइरलका बिरामी बढेको जिल्ला अस्पतालका डाक्टर देवले बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *