



उदयपुर । उदयपुरमा रहेका विभिन्न महिला संघ तथा संगठनहरूले मुलुकी देवानी (सहित) ऐन, २०७५ लाई संशोधन गरी बहुविवाहलाई कानूनी वैधता दिने प्रस्तावका विरुद्ध ज्ञापनपत्र बुझाएका छन् । महिला अधिकार र समानताका लागि लामो समयदेखि संघर्ष गर्दै आएको सो संगठनहरूले बहुविवाहलाई कानूनी मान्यता दिने प्रस्तावलाई गैरजिम्मेवारपूर्ण, प्रतिगामी र महिला विरोधी भन्दै तीव्र विरोध गरेका छन् ।
ज्ञापनपत्रमा बहुविवाह जस्ता सामाजिक अपराधलाई प्रोत्साहन दिने, महिला हिंसा, शोषण र भेदभावलाई बढावा दिने र महिला अधिकारमाथि कुठाराघात गर्ने भन्दै तत्काल उक्त प्रस्ताव फिर्ता लिन सरकारसमक्ष माग गरिएको छ । महिला अधिकारकर्मीहरूले उक्त प्रस्ताव असंवैधानिक मात्र नभई मुलुकमा लैङ्गिक समानता र न्याय प्राप्तिका लागि गरिएको प्रयासलाई कमजोर बनाउने बताएका छन् ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेलले प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्यालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, सिंहदरबार काठमाण्डौ पठाईने बताए । ज्ञापनपत्रमा हस्ताक्षर गर्ने प्रमुख संगठनहरूमा नेपाल महिला संघ जिल्ला समिति, अखिल नेपाल महिला संघ (अ.ने.म.संघ), अखिल नेपाल महिला संघ (क्रान्तिकारी), अखिल नेपाल महिला संघ (समाजवादी), जिल्ला महिला संगठन र अखिल महिला संघ क्रान्तिकारी जिल्ला समिति रहेका छन् । महिला संघ/संगठनहरूले महिला विरोधी र सामाजिक अन्यायपूर्ण प्रस्ताव फिर्ता नभएसम्म निरन्तर संघर्ष गर्ने चेतावनी समेत दिएका छन् ।
