



ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–१० स्थित सडकखण्डमा बोलेरो गाडीमा करेन्ट लागेर आगलागी हुँदा चार जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । पाथीभरा दर्शनका लागि जाँदै गरेको बोलेरो गाडी अचानक विद्युत्को तारमा अल्झिँदा आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार “मे १ ज ३०११” नम्बरको बोलेरो गाडी बिहान करिब ५ बजे सडकमा झरेको विद्युत् प्रवाह भइरहेको तारमा परेपछि आगलागी भएको हो । मृतकमध्ये १६ वर्षीया आध्या आचार्य, ७० वर्षीय विनोद पौडेल, उनकी ६९ वर्षीया श्रीमती सरिता पौडेल, र गाडीका चालक ४२ वर्षीय दुर्गा भट्टराई रहेका छन् ।
घटनामा घाइते भएकी ललितपुर महानगरपालिका–१० की ४५ वर्षीया सबिना आचार्यको अवस्था गम्भीर रहेको छ भने उनका १० वर्षीय छोरा भविमय आचार्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लाने तयारी भइरहेको प्रदेश प्रहरी कार्यालयका एसएसपी भीम दाहालले जानकारी दिए ।
विद्युत्को पोलबाट तार चुँडिएर सडकमा झरेको र त्यही तारमा गाडी फसेर आगो लागेको प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ । घटनापछि प्रहरी निरीक्षक रवि रावलको नेतृत्वमा १५ जनाको टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी विवेक बस्नेतले बताए ।
