



चौदण्डी । चाम्लिङ राई भाषा, संस्कार तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले एक पुस्तक सार्वजनिक गरिएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका निवासी लेखक राज कुमार चाम्लिङ राईद्वारा लिखित ‘चाम्लिङ राई : संस्कार संस्कृति’ र ‘चाम्लिङ भाषा : शब्द शब्दावली’ नामक पुस्तकको विमोचन कार्यक्रम सम्पन्न भएको हो ।
पुस्तक विमोचन कार्यक्रम बिहिबार चौदण्डीको बेलटारस्थित भू.पू. सैनिक सभाभवनमा आयोजना गरिएको थियो । कार्यक्रममा भाषा, साहित्य तथा संस्कृतिप्रति चासो राख्ने व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
पुस्तकको विमोचन प्राध्यापक तथा भाषाविद् डाक्टर कैलाश राई लगायत अतिथिहरूले संयुक्त रूपमा गरेका थिए । कार्यक्रममा वक्ताहरूले चाम्लिङ भाषा, संस्कार र संस्कृतिको संरक्षण तथा पुस्तान्तरणका लागि यस्ता कृतिहरू महत्वपूर्ण हुने धारणा राखेका थिए ।
लेखक राज कुमार चाम्लिङ राईका अनुसार चाम्लिङ समुदायको मौलिक भाषा, संस्कार र सांस्कृतिक पहिचानलाई संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले पुस्तक प्रकाशन गरिएको हो ।
कार्यक्रममा आफन्त, शुभचिन्तक लगायत स्थानीयवासीको बाकुलो उपस्थिति रहेको थियो । सहभागीहरूले स्थानीय भाषा, साहित्य र संस्कृतिको जगेर्नाका लागि यस्ता सिर्जनात्मक अभियान आवश्यक रहेको बताएका थिए ।