



उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ९ राजाबासमा ६२ वर्षीय एक पुरुष मृत अवस्थामा फेला परेका छन् । मृतक स्थानीय चुडा बहादुर खड्का रहेको प्रहरीले जनाएको छ ।
शुक्रबार साँझ होटलबाट घर फर्किने क्रममा उनी परिवारको सम्पर्कमा नआएपछि आफन्तले खोजतलास सुरु गरेका थिए । खोजीका क्रममा घरदेखि करिब ७०० मिटर उत्तरतर्फ रहेको भित्री गोरेटो बाटोमा उनलाई मृत अवस्थामा फेला पारिएको हो ।
घटनाको जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक कानुनी प्रक्रिया पूरा गरेको थियो । त्यसपछि शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको प्रहरीले जनाएको छ । पोस्टमार्टम सम्पन्न भएपछि शव आफन्तलाई बुझाइएको र अन्त्येष्टिका लागि लगिएको छ ।
प्रारम्भिक अनुसन्धानअनुसार बेलुका परेको वर्षासँगै लागेको चट्याङका कारण उनको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।